|  

बालेनले बदले कूटनीतिक भेटघाटको शैली, अब राजदूतसँग छुट्टाछुट्टै संवाद

२४ श्रावण, काठमाडाैं ।  प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग अब छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

यसअघि सामूहिक भेटघाटलाई प्राथमिकता दिएका प्रधानमन्त्री शाहले सोमबारदेखि विभिन्न देशका राजदूतसँग व्यक्तिगत रूपमा संवाद सुरु गर्न लागेका हुन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि विदेशी राजदूतहरूले बधाइ तथा शुभकामनाका लागि भेटको समय माग गरे पनि शाहले लामो समयसम्म छुट्टाछुट्टै भेटवार्ता गरेका थिएनन्। बरु चैत २५ गते उनले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट गरेका थिए। अब भने व्यक्तिगत भेटघाटको सुरुवात भारतका राजदूत नविन श्रीवास्तवबाट हुने भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान भारतीय राजदूतसँग भेट गरेपछि प्रधानमन्त्री शाहले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्नेछन्। त्यसपछि अमेरिका लगायत अन्य देशका राजदूतसँग पनि क्रमशः भेट गर्ने तयारी छ। सामूहिक भेटका क्रममा भारत, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, अमेरिका तथा संयुक्त राष्ट्रसंघका राजदूत र नियोग प्रमुख सहभागी भएका थिए। सोही अवसरमा परराष्ट्र मन्त्रालयमार्फत नेपालको विदेश नीतिबारे कूटनीतिक प्रतिनिधिहरूलाई जानकारी गराइएको थियो। त्यसपछि जेठ १२ गते प्रधानमन्त्री शाहले नेपालस्थित युरोपेली संघमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग पनि सामूहिक छलफल गरेका थिए। तर त्यसपछि पनि कतिपय राजदूतले व्यक्तिगत भेटवार्ताका लागि प्रयास गरे पनि प्रधानमन्त्री शाहले समय दिएका थिएनन्।

विदेशबाट आएका उच्चस्तरीय कूटनीतिज्ञसँगको भेटमा समेत प्रधानमन्त्री शाह अनिच्छुक देखिँदै आएका थिए। अमेरिका र चीनबाट आएका विशिष्ट अतिथिसँग पनि उनले भेट गरेनन्। भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको प्रस्तावित भेटसमेत हुन नसकेपछि उनको नेपाल भ्रमण स्थगित भएको प्रसंगले कूटनीतिक वृत्तमा चर्चा पाएको थियो। प्रधानमन्त्री शाहको यस्तो कार्यशैलीप्रति कूटनीतिक क्षेत्रबाट भेटघाट बढाउन सुझाव दिइँदै आएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालले समेत प्रधानमन्त्रीलाई विदेशी कूटनीतिज्ञसँग नियमित संवाद र विदेश भ्रमणका लागि पटक-पटक आग्रह गरेको बताइन्छ। तर प्रधानमन्त्री शाहले यसअघि त्यस्ता प्रस्ताव अस्वीकार गर्दै आएका थिए।

यसबीच नेपालको बाह्य सम्बन्धलाई थप सक्रिय बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री खनाल आफैँ सक्रिय भएका छन्। लामिछानेले भारतको पाँच दिने भ्रमण गरिसकेका छन् भने परराष्ट्रमन्त्री खनालले भारत र चीनको भ्रमण सम्पन्न गरेका छन्। लामिछाने चीन भ्रमणको तयारीमा समेत छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका जाने अपेक्षा गरिए पनि उनी नजाने भएपछि परराष्ट्रमन्त्री खनाल सहभागी हुने तयारीमा छन्।

भारत र चीन दुवैबाट प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो आएको भए पनि उनले अहिलेसम्म विदेश भ्रमण गर्ने स्पष्ट तयारी गरेका छैनन्। यस्तो अवस्थामा राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता सुरु गर्ने निर्णयलाई नेपालको कूटनीतिक सम्बन्धलाई पुनः सक्रिय बनाउने संकेतका रूपमा हेरिएको छ।राजदूतहरूसँगको भेटवार्ता र त्यसबाट विकसित हुने कूटनीतिक वातावरणले आगामी दिनमा प्रधानमन्त्री शाहको विदेश भ्रमणको बाटोसमेत खुल्ने अपेक्षा गरिएको छ।