|  

सरकारलाई खबरदारी गर्नु कांग्रेसको प्रमुख दायित्व : गगन थापा

२४ श्रावण, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारका गलत काममाथि प्रश्न उठाउँदै शासकीय अराजकताविरुद्ध सशक्त रूपमा उभिनुपर्ने बताएका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठक उद्घाटन गर्दै थापाले प्रमुख प्रतिपक्षीका रूपमा सरकारलाई जिम्मेवार बनाउनु कांग्रेसको संवैधानिक दायित्व भएको बताए। थापाले मन्त्रीहरूको सम्पत्तिमाथि भएको छानबिनको प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा समेत प्रश्न उठाए। छानबिनको निष्कर्ष सार्वजनिक गर्नु नागरिकको जान्न पाउने अधिकार भएको उनको भनाइ थियो।प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता स्वतन्त्र संवैधानिक निकायमाथि हस्तक्षेप स्वीकार्य नहुने बताए। यस्ता असंवैधानिक तथा अराजक गतिविधिविरुद्ध कांग्रेसले दृढतापूर्वक आवाज उठाउनुपर्ने उनको भनाइ छ।

राष्ट्रिय शक्तिका रूपमा कांग्रेसले सरकारको निगरानीसँगै नागरिकका मुद्दामा प्रभावकारी भूमिका खेल्नुपर्ने थापाले बताए। साथै, देशभित्रका विभिन्न राजनीतिक तथा सामाजिक शक्तिसँग संवादको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।