|  

रास्वपाले सुरु गर्दैछ ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम, मन्त्रीले महिनामा एकपटक नागरिकसँग संवाद गर्ने

२४ श्रावण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नागरिकका गुनासा र सुझावलाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्ने उद्देश्यले कार्यक्रम ल्याउन लागिएको रास्वपाले जनाएको छ। कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्नेछ। कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ देखि ६ बजेसम्म मन्त्रीले सर्वसाधारणसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या, गुनासा, सुझाव र अपेक्षा सुन्नेछन्। त्यसपछि ६ बजेदेखि मन्त्री, पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक हुनेछ। उक्त बैठकमा नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ।

रास्वपाका अनुसार कार्यक्रमले नागरिक, पार्टी संगठन, संसदीय दल र सरकारबीच समन्वय बढाउनेछ। साथै मन्त्रीहरूलाई नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउँदै उनीहरूका वास्तविक समस्या नीति तथा कानुन निर्माणसम्म पुर्‍याउने लक्ष्य राखिएको छ। रास्वपाका सहमहामन्त्री असिम शाहले जारी गरेको विज्ञप्तिमा लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु रहेको उल्लेख गर्दै कार्यक्रमले जनउत्तरदायी र पारदर्शी राजनीतिक संस्कार विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

764363881_1053707750970485_1579953804199246231_n