|  

कोसोभोका कार्यवाहक प्रधानमन्त्रीमाथि संसद्‌मा अण्डा प्रहार

२५ श्रावण, काठमाडौं । कोसोभोको संसद्‌मा विपक्षी सांसद टाइम काद्रियाजले कार्यवाहक प्रधानमन्त्री आल्बिन कुर्तीमाथि अण्डा प्रहार गरेका छन् ।

घटनापछि शनिबार संसद् बैठक स्थगित गरिएको थियो ।,जुन ७ मा भएको संसदीय निर्वाचनपछि नयाँ संस्थाहरू गठन गर्ने विषयमा कुर्तीको ‘भेतेभेन्दोस्जे’ पार्टी र विपक्षी समूहबीच वार्ता अड्किरहेका बेला यो घटना भएको हो ।

उक्त पार्टीले संसद्का १२० मध्ये ५३ सिट जितेर सबैभन्दा ठूलो राजनीतिक शक्ति बने पनि एक्लै सरकार गठन गर्न आवश्यक स्पष्ट बहुमत भने हासिल गर्न सकेको छैन । विपक्षी दल ‘एलाइन्स फर द फ्युचर अफ कोसोभो’की सांसद काद्रियाज पहिलो लहरमा बसिरहेका कुर्तीतर्फ अगाडि बढिन् र उनीतर्फ अण्डा प्रहार गरिन् ।

सुरक्षाकर्मी र अन्य सांसदहरूले बीचमा आएर उनलाई रोक्न खोज्दा उनले धिक्कार छ तिमीलाई ! भन्दै चिच्याएकी थिइन् ।सुरक्षाकर्मीहरूले कुर्तीलाई घेरेपछि सभामुखले संसद्को प्रत्यक्ष प्रसारण काट्न आदेश दिएका थिए ।