|  

सीटीईभीटीका २,२०० करार कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ

२५ श्रावण, काठमाडाैं। समान कामका लागि समान ज्याला, सामाजिक सुरक्षा र पेशागत स्थायित्वलगायतका माग राख्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन्।

देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करिब २ हजार २०० कर्मचारी सोमबारदेखि सानोठिमीस्थित सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउमा उत्रिएका हुन्। कर्मचारीहरूले साउन १४ गतेदेखि देशभरका आङ्गिक शिक्षालयमा चरणबद्ध आन्दोलन गर्दै आएका थिए। पटक-पटक आन्दोलनका कार्यक्रम सञ्चालन गर्दा पनि व्यवस्थापनले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै पूर्वघोषित कार्यक्रमअनुसार केन्द्रीय कार्यालय घेराउ गर्नुपरेको उनीहरूको भनाइ छ।आन्दोलनरत कर्मचारीहरूको मुख्य माग समान कामका लागि समान ज्याला रहेको छ। त्यससँगै स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा र पेशागत स्थायित्वको व्यवस्था गर्न उनीहरूले माग गरेका छन्।

लामो समयदेखि परिषद् मातहतका विभिन्न शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले स्थायी प्रकृतिका कर्मचारीसरह समान प्रकृतिको काम गर्दै आए पनि पारिश्रमिक तथा सेवा-सुविधामा विभेद गरिएको गुनासो गरेका छन्। यस्तो विभेद अन्त्य गरी न्यायोचित सेवा-सुविधाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। करार तथा ज्यालादारी केन्द्रीय सङ्घ समितिका सह-संयोजक इ. युकेश गौतमले साउन १४ गतेदेखि देशभर चरणबद्ध आन्दोलन गर्दा समेत व्यवस्थापनले माग सम्बोधनतर्फ चासो नदेखाएपछि केन्द्रीय कार्यालय घेराउ गरिएको बताए। उनका अनुसार कर्मचारीका माग वार्ता र संवादमार्फत तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता छ। “समान कामका लागि समान ज्याला, स्थानीय तथा दुर्गम भत्ता, सामाजिक सुरक्षा र पेशागत स्थायित्व हाम्रा प्रमुख माग हुन्,” गौतमले भने। आन्दोलनरत कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने संकेत गरेका छन्।