|  

ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

२५ श्रावण,काठमाडाैं । ढल्केबरमै प्रस्तावित ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग राख्दै स्थानीयवासीले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनको पाँचौँ दिन शुक्रबार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले ढल्केबरमा आधा घण्टा राजमार्ग अवरुद्ध गरेका हुन्। आन्दोलनकारीले बिहान ११ बजेदेखि ११ः३० बजेसम्म राजमार्गमा धर्ना दिँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रस्तावित ट्रमा सेन्टर ढल्केबरबाट अन्यत्र सार्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै संघर्ष समितिले आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाएको हो।

गत बुधबार संसद्मा स्वास्थ्य मन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबर क्षेत्रमा विरोध चर्किएको संघर्ष समितिको भनाइ छ। यसअघि संघीय सरकारले ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्ने योजना अघि सारेको थियो। संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार आन्दोलनअन्तर्गत शनिबार बिहान ११ बजेदेखि १२ बजेसम्म राजमार्ग अवरुद्ध गरिनेछ। त्यसैगरी, २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ।

मेयर महतोका अनुसार मिथिला नगरपालिका-७, साविक ढल्केबर गाविस-२ ‘क’ स्थित कित्ता नम्बर १६९ मा रहेको करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक बजेट विनियोजन गरेको थियो। उक्त योजनाका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको र लालपुर्जासमेत बनिसकेको महतोको दाबी छ। निर्माणका लागि शिलान्यासको तयारी भइरहेका बेला योजना अन्यत्र सार्ने विषय सार्वजनिक भएपछि स्थानीयवासी आन्दोलित भएका हुन्। संघर्ष समितिले ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग गर्दै सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम जारी राखेको जनाएको छ।