|  

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, विकास साझेदारीमा छलफल

२५ श्रावण, काठमाडाैं ।  प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच नेपाल–भारत सम्बन्ध तथा विकास सहकार्यका विषयमा छलफल भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान भएको भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र विकास साझेदारीलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। भेटका क्रममा राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्री शाहले नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

दुवै पक्षबीच विकास साझेदारीलाई प्रभावकारी बनाउने तथा आपसी हितका विषयमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको जनाइएको छ।