|  

ग्यासका लागि नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न इण्डक्सन चुल्हो बाँड्ने योजना ल्याउन सांसद अधिकारीको माग

२५ श्रावण, काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले ग्यासको अभावबाट नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न तत्काल इण्डक्सन चुल्हो वितरणको योजना ल्याउन सरकारसँग माग गर्नुभएको छ । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले खाना पकाउने ग्यासका लागि सर्वसाधारण मध्यरातसम्म लाइनमा बस्नुपरेकोतर्फ समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले एकातिर देशमा विद्युत खेर गइरहेको र अर्कोतिर खाना पकाउने ग्यासका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको वैकल्पिक उर्जाको प्रयोगमार्फत समस्या हल गर्नुपर्ने बताउनु भयो । सांसद अधिकारीले ग्यास आपूर्तिमा पटक–पटक समस्या देखिएपनि विद्युत खपतसम्बन्धी नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरिरहेको हो कि भन्ने कुरामा समेत सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘भान्सामा साँझ र बिहानको छाक टार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिण्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन् । आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो सरकार ? एकातिर देशमा बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ । यो भन्दा ठूलो बिडम्बना अरु के हुनसक्छ । यदि ग्यासको यो सास्तीबाट नागरिकलाई साच्चिकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुल्हो बाँड्ने योजना सरकारले तत्काल ल्याओस् । ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरुले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित त बनाइरहेको छैन ? सरकार यसमा गम्भीर बनोस् ।’

उहाँले नागरिकले एलपी ग्यासको लागि अझै कति सास्ती भोग्नुपर्ने हो सरकार भन्दै प्रश्न समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल