|  

मन्त्री मेहताको स्पष्टिकरण-धनुषाको ढल्केबरमा प्रश्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको होइन

२५ श्रावण, काठमाडाैं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रश्तावित ट्रमा सेन्टर निर्माणको योजना यथावत रहेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्यत्र सार्न नखोजेको स्पष्ट पार्नुभएको हो । मन्त्री मेहताका ढल्केबरमा तत्काल ट्रमा सेन्टर स्थापना गर्न आवश्यक पूर्वाधार नरहेको कारण लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेवा सञ्चालन गर्ने कार्य अघि बढेको जानकारी दिनुभयो । उहाँले तत्काल दुर्घटनामा घाइते हुनेहरु काठमाडौं आउन नपरोस् भनेर लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेवा शुरु गर्न लागिएको जानकारी दिनुभयो । उहाँले लहान अस्पतालमा सिटी स्क्यान, चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकको व्यवस्था रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्न सकिने बताउनु भयो । सडक दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न देशका सबै भागमा समयमै ट्रमा उपचार सेवा उपलब्ध गराउने सरकारको नीति रहेको बताउनु भयो । सोही नीतिअनुसार प्रत्येक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने र आवश्यकताअनुसार ट्रमा युनिट सञ्चालन गर्ने योजना अघि बढाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,‘सडक दुर्घटनामा परी गम्भीर घाइते भएका नागरिकहरुलाई उपचारका लागि काठमाडौंल्याउपनुपर्ने बाध्यता अन्त्य गर्न देशका सबै भागमा समयमै ट्रमा उपचार उपलब्ध गराउने सरकारको नीति हो । सोहीअनुरुप देशका हरेक प्रदेशमा कम्तिमा एउटा ट्रमा सेन्टर  विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट विस्तार गर्ने योजना अघि बढाइएको छ । सम्माननीय सभामुख महोदय मेरो लागि देशका सबै नागरिक र सबै भूगोल समान छन् । स्वास्थ्य सेवा कुनै क्षेत्र विशेषको विषय होइन । नागरिकको मौलिक आवश्यकताको विषय हो । त्यसकारण मन्त्रालयले तत्काल सेवा दिन सकिने व्यवस्था र दीर्घकालिन पूर्वाधार निर्माण सँगसँगै अगाडि बढाइएको छ । मधेश प्रदेशको सन्दभृमा लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्ने योजना मन्त्रालयले अगाडि बढाएको छ । उक्त अस्पतालमा सिटीस्क्यान लगायत आवश्यक स्वास्थ्य पूर्वाधार, चिकित्सकीय जनशक्ति तथा बिरामीको पर्याप्त चाप रहेको छ । साथै ब्लड बैंकको व्यवस्था पनि रहेको छ । साथै आकस्मिक अवस्थाका लागि ब्लड बैंकको व्यवस्था पनि रहेको छ । आकस्मिक तथा ट्रमा सेवाका लागि आवश्यक आधार समेत उपलब्ध छ । यी सेवासहित तत्काल लहानमा ट्रमा सेवा सुचारु गर्न सकिन्छ । यससँगै ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने काम यथावत नै रहेको छ । ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ । यसको संरचना दीर्घकालीन रुपमा रुपमा निर्माण हुनेछ । तर  नयाँ संरचना निर्माण हुन समय लाग्दछ । त्यस अवधीसम्म दुर्घटनामा परेका घाइतेले टाढा जान नपरोस् भनेर लहानमा उपलब्ध पूर्वाधारको उपयोग गरी ट्रमा युनिट सञ्चालन गर्न खोजिएको हो ।’

उहाँले स्वास्थ्य सेवा कुनै क्षेत्र विशेषको विषय नभई नागरिकको मौलिक आवश्यकताको विषय भएकाले तत्काल सेवा विस्तारसँगै दीर्घकालीन स्वास्थ्य पूर्वाधार निर्माणलाई पनि सँगसँगै अघि बढाइरहेको बताउनु भयो । ढल्केबरमा प्रश्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै सरकारको विरोध हुँदै आएको छ । –न्युज एजेन्सी नेपाल