|  

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्पः १११ जनाको मृत्यु, ८७ जना घाइते

२६ श्रावण, काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने ८७ जनाभन्दा बढी घाइते भएका छन्।

भूकम्पका कारण कालीलगायत प्रमुख सहरमा बहुतले भवनहरू भत्किएका छन् । भग्नावशेषमा अझै कैयौँ मानिस पुरिएको आशंका गरिएको छ। उद्धार तथा राहत कार्य जारी रहेको बताइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु कोलम्बियाको प्रशान्त महासागरीय तटीय क्षेत्रमा पर्ने चोको प्रान्तको पूर्वोत्तर सीमाना, तातामा राष्ट्रिय निकुञ्जनजिकै जमिनको सतहबाट करिब १०७ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पको शक्तिशाली धक्का छिमेकी मुलुक पानामा, इक्वेडर र भेनेजुएलासम्म महसुस गरिएको थियो।भूकम्पबाट १ हजार ५७५ भन्दा बढी घरमा क्षति पुगेको छ।

तीमध्ये ३७ घर पूर्ण रूपमा ध्वस्त भएका छन्। त्यस्तै, ६१ भवन, १८ स्वास्थ्य केन्द्र र ५२ विद्यालयमा समेत क्षति पुगेको जनाइएको छ।