|  

ट्रम्पले भनेः इन्फान्टिनोलाई फिफा अध्यक्षबाट हटाउनु भयानक गल्ती हुनेछ

२६ श्रावण, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई दबाबका कारण पदबाट हटाइएमा भयानक गल्ती हुने बताएका छन् ।

युईएफए, कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी) ले इन्फान्टिनोले रद्द भएको फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई)प्रस्तावमार्फत ‘छल गरेर विश्वास तोडेको’ आरोप लगाउँदै खुला पत्र जारी गरेपछि  ट्रम्प इन्फान्टिनाको पक्षमा उत्रिएका हुन् ।

एफएफई योजनाअन्तर्गत विश्वकपसहित फिफाका सबै प्रतियोगिताको व्यावसायिक तथा टिकट बिक्रीसम्बन्धी अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गर्ने प्रस्ताव थियो । उक्त कम्पनीको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने योजना थियो ।

जुलाई २८ मा एफएफई योजना सार्वजनिक भएयता ट्रम्पले पहिलोपटक इन्फान्टिनोको पक्षमा बोलेका हुन् । ‘कुनै पनि कारणले फिफाले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउनेबारे सोच्यो भने त्यो भयानक गल्ती हुनेछ’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले थपेका छन्, ‘उहाँ उत्कृष्ट हुनुहुन्छ । उहाँकै नेतृत्वमा अहिलेसम्मकै सबैभन्दा सफल विश्वकप आयोजना भएको छ, चार गुणासम्म सफल । यदि उहाँ हट्नुभयो भने विश्वकप फेरि त्यति सफल वा नाफामूलक हुने छैन ।’