२६ श्रावण,काठमाडौं । डा. धवलशमशेर राणाको नेतृत्वमा गठन भएको ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने पूर्वनिर्धारित कार्यक्रम सरेको छ।
साउन २८ गते बिहीबार दल दर्ता गर्ने तयारी भए पनि आवश्यक तयारी पूरा नभएको भन्दै दर्ताको समय पर सारिएको पार्टीका सर्वोच्च नेता दुर्गा प्रसाईंले बताएका छन्। प्रसाईंले सामाजिक सञ्जालमार्फत नयाँ पार्टी गठन तथा दर्ताका लागि गर्नुपर्ने सम्पूर्ण तयारी अझै पूरा नभएको जानकारी दिएका छन्। पार्टीको गठन, संगठनात्मक संरचना तथा अन्य आवश्यक विषयमा आन्तरिक छलफल र तयारी जारी रहेकाले दर्ताको कार्यक्रम सारिएको उनको भनाइ छ। तर, पार्टी गठनमा सक्रिय एक नेताका अनुसार दर्ता कार्यक्रम सर्नुको मुख्य कारण नेतृत्वबीचको शक्ति बाँडफाँटमा सहमति नजुट्नु हो।
ती नेताका अनुसार निर्वाचनमा उम्मेदवारको टिकटमा कसले हस्ताक्षर गर्ने भन्ने विषयमा सभापति राणा र सर्वोच्च नेता प्रसाईंबीच सहमति बन्न सकेको छैन। दुवै पक्षले पार्टीभित्र आफ्नो अधिकार सुनिश्चित गर्न खोज्दा दर्ताको प्रक्रिया प्रभावित भएको उनको दाबी छ। यद्यपि, विधान मस्यौदा समितिका संयोजक तथा प्रसाईं निकट नेता माधव कल्पितले भने टिकटमा हस्ताक्षर गर्ने विषयलाई सामान्य प्राविधिक विषयका रूपमा व्याख्या गरेका छन्। ‘त्यो ठूलो कुरा होइन । प्राविधिक कुरा हो । सभापति र सर्वोच्च नेताले हस्ताक्षर गर्नुहुन्छ,’ कल्पितले भने। उनका अनुसार साउन २८ गते दल दर्ताका लागि उपयुक्त साइत नदेखिएपछि पनि मिति परिवर्तन गरिएको हो। साथै, निर्वाचन आयोगमा बुझाउने केन्द्रीय सदस्यको सूचीमा रहेका केही व्यक्ति काठमाडौं बाहिर रहेकाले उनीहरूलाई समेट्न समय थपिएको उनले बताए। ‘साइत हेर्दा २८ गते राम्रो दिन देखिएन । निर्वाचन आयोग जाँदा ५/७ मान्छेहरूसहित जाऔँ भन्ने पनि हो,’ कल्पितले भने, ‘केन्द्रीय सदस्यमा रहने साथीहरू काठमाडौं आउन समय पनि लाग्छ। भदौको पहिलो सातामा दल दर्ता गरिसक्छौं।’
जय नेपाल पार्टीको प्रस्तावित विधानमा ३१९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ। तर, दल दर्ताका क्रममा निर्वाचन आयोगमा १०१ जना केन्द्रीय सदस्यको सूची बुझाउने तयारी छ। प्रस्तावित संरचनाअनुसार सभापति र सर्वोच्च नेतासहित बढीमा दुई जना वरिष्ठ नेता रहनेछन्। सात प्रदेश र केन्द्रलाई समेटेर आठ उपसभापति तथा एक महिलासहित तीन महामन्त्री रहने व्यवस्था गरिएको छ। पार्टीका पदाधिकारीको संख्या ३१ जना हुने कल्पितले जानकारी दिए। केन्द्रीय कमिटीमा भने विभिन्न पक्षलाई निश्चित प्रतिशतका आधारमा समेट्ने तयारी गरिएको छ। सभापति धवलशमशेर राणा पक्ष र सर्वोच्च नेता दुर्गा प्रसाईं पक्षबाट समान ४०/४० प्रतिशत तथा अन्य पक्षबाट आउनेलाई २० प्रतिशत हिस्सा दिने गरी संरचना तयार पारिएको कल्पितले बताए। यसले पार्टीको संगठनात्मक संरचनामा दुवै प्रमुख नेतृत्व पक्षको समान प्रभाव रहने देखाएको छ। तर, नेतृत्व अधिकार र उम्मेदवार छनोटजस्ता विषयमा अन्तिम सहमति जुटेपछि मात्रै पार्टी दर्ताको प्रक्रिया अघि बढ्ने देखिन्छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar