|  

खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल

२६ श्रावण, काठमाडाैं । नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्यालले नेपालको खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । नेपाल खनिज सम्पदाले सम्पन्न भएपनि हालसम्म प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउन नसकिएको उल्लेख गर्दै अर्यालले प्रश्तुत विधेयकले यो दिशामा मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । खनिज क्षेत्रको विकासका लागि आधुनिक भूवैज्ञानिक अध्ययन र विस्तृत अन्वेषणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । अर्यालले केवल उत्खननमा मात्र सिमित नभई प्रशोधन उद्योग स्थापना गरी कच्चा पदार्थको उत्पादन र मूल्य अभिवृद्धि गरिएका वस्तु बजारमा पु¥याउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘खानी परियोजना सञ्चालन गर्दा स्थानीय समुदायको रोजगारी, सीप विकास र पूर्वाधार निर्माणलाई अनिवार्य रूपमा परियोजनासँग जोड्न आवश्यक छ ।’

विगतमा शुरु भएका दैलेखको पेट्रोलियम तथा ग्यास र धौबाधीको फलाम खानीजस्ता परियोजनाहरूलाई सफल बनाउनुपर्नेमा जोड दिँदै उहाँले चुनढुङ्गा, तामा र सुन लगायतका खानीहरूले नेपाललाई आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजाने आधार तय गर्ने बताउनु भयो । यी परियोजनाहरू सफल भएमा मुलुक औद्योगिकीकरणको दिशामा अघि बढ्ने, रोजगारी सिर्जना हुने र पेट्रोलियम एवं फलामको आयातमा रहेको निर्भरता घटेर निर्याततर्फ जान सकिने उहाँको दाबी छ । प्राकृतिक स्रोतलाई राष्ट्रिय समृद्धिको आधार बनाउने संविधानको लक्ष्यलाई पूरा गर्न यो विधेयक प्रभावकारी हुनुपर्ने अर्यालले उल्लेख गर्नुभयो । विधेयक केवल कानूनमा मात्र सिमित नभई नेपालको प्राकृतिक सम्पदालाई राष्ट्रिय विकास, औद्योगिक सुधार र आत्मनिर्भर अर्थतन्त्रको बलियो आधार बनाउन केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल