|  

राष्ट्रियताको पक्षमा साझा धारणा र कानूनी शासनको सुदृढीकरणमा सांसद राईको जोड

२६ श्रावण,काठमाडाैं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रियताको विषयमा सबै राजनीतिक दल र नागरिक एकढिक्का हुनुपर्नेमा जोड दिनुभएको छ ।

मंगलवार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले मुलुकको सार्वभौमसत्ता र राष्ट्रियता जस्तो संवेदनशील विषयमा विवाद गर्नुभन्दा पनि समाधान खोज्नुपर्ने बताउनुभएको हो । सांसद राईले राष्ट्रियताको सवालमा आफ्नो पार्टी र नेतृत्वको स्पष्ट धारणा रहेको उल्लेख गर्नुभयो । पार्टी अध्यक्षले संसद्मा व्यक्त गर्नुभएको ‘कोर्रा’ सम्बन्धी अभिव्यक्तिको प्रष्टीकरण दिँदै सांसद राईले त्यसलाई भौतिक कारबाहीको रूपमा नभई कडा कानूनी शासनको अर्थमा बुझ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रियताको विषयमा हामी सबै नेपाली एकढिक्का हुन आवश्यक छ । यसमा विवाद गरिरहनु उचित हुँदैन, बरु शिघ्र समाधान खोजिनुपर्छ । अध्यक्षज्यूले भन्नुभएको कोर्राको अर्थ भौतिक रूपमा आक्रमण गर्ने भन्ने होइन, बरु अराजकता, साम्प्रदायिक र धार्मिक द्वन्द्व भड्काउनेहरूलाई कडा कानुनी दायरामा ल्याउनुपर्छ भन्ने हो ।’ 

सामाजिक सञ्जालमा सार्वजनिक भएको आफ्नो एक भिडियोका सम्बन्धमा टिप्पणी गर्दै सांसद राईले त्यसलाई आफ्नो व्यक्तिगत र सांस्कृतिक परम्परासँग जोडेर बचाउ गर्नुभयो । –न्युज एजेन्सी नेपाल