|  

भारत सरकारको अनुदानमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका ८ परियोजनामा समझदारी

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने भएका छन्। यी परियोजना कार्यान्वयनका लागि मंगलबार नेपाल सरकार, भारतीय अधिकारीहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कुल अनुमानित ८० करोड ३० लाख रुपैयाँ लागतमा सञ्चालन हुने परियोजनाहरू नेपाल सरकारका स्थानीय तह तथा सम्बन्धित सरकारी निकायमार्फत कार्यान्वयन गरिने भएको छ।

समझदारी भएका परियोजनामध्ये सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण र धादिङको ज्वालामुखी गाउँपालिका–६ मा नगरपालिका कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण रहेका छन्।

त्यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मा बेलबारी बहुमुखी क्याम्पस भवन, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल भवन तथा हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवर्द्धन केन्द्र निर्माण गरिनेछ।

यसैगरी, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर तथा सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गर्ने परियोजनासमेत समझदारीमा समेटिएका छन्।

यी आठै परियोजना स्थानीय सरकार तथा नेपाल सरकारका सम्बन्धित निकाय र संस्थामार्फत कार्यान्वयन हुने भारतीय राजदूतावासले जनाएको छ।

भारत सरकारले सन् २००३ देखि नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। हालसम्म ६०५ वटा यस्ता परियोजना अघि बढाइएकोमा ५१२ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी परियोजना विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन्।

भारतको अनुदान सहयोगमा सञ्चालन भएका यस्ता परियोजनाले नेपालको स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सडक तथा सम्पर्क, सरसफाइ र सार्वजनिक उपयोगका पूर्वाधार निर्माणमा योगदान पुर्‍याउँदै आएका छन्।

छिमेकी मुलुक नेपाल र भारतबीच विभिन्न क्षेत्रमा हुँदै आएको सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गतका कार्यक्रमले नेपाल सरकारको विकास प्रयासलाई सहयोग पुर्‍याउनुका साथै प्राथमिकताका क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणमा समेत योगदान गरिरहेको जनाइएको छ।

WhatsApp Image 2026-

WhatsApp Image 2026-

WhatsApp Image 2026-