|  

युवाको ऊर्जा उत्पादन र उद्यममा लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह

२७ श्रावण, काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवाको ऊर्जा, सिर्जनशीलता र नवीन सोचलाई उद्यम, उत्पादन तथा समाज रूपान्तरणमा केन्द्रित गर्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवालाई रोजगारी खोज्ने जनशक्तिमा सीमित नराखी उद्यम र उत्पादनको नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको जानकारी दिए। उनका अनुसार नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलताका नयाँ कार्यक्रममार्फत युवालाई उत्पादन, रोजगारी र स्वरोजगारसँग जोड्ने प्रयास भइरहेको छ। युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न ब्याज अनुदानलगायतका कार्यक्रमलाई पनि प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको उनले बताए। मुख्यमन्त्री आचार्यले युवा राष्ट्र निर्माणका प्रमुख शक्ति र परिवर्तनका संवाहक भएको उल्लेख गर्दै उनीहरूको क्षमता सही दिशामा परिचालन गर्न सके समृद्ध, आत्मनिर्भर र समुन्नत समाज निर्माण गर्न सकिने धारणा राखे। “युवा रोजगारी खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बन्नुपर्छ,” उनको सन्देशमा भनिएको छ।

प्रदेश सरकारले युवामैत्री नीति तथा कार्यक्रममार्फत उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारलाई प्राथमिकता दिँदै आएको दाबी गर्दै उनले युवाको सहभागिताबिना आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव नहुने बताए।