|  

एकीकृत ‘युथ इकोसिस्टम’ मार्फत युवालाई स्वरोजगार बनाउने सरकारको लक्ष्यः मन्त्री यादव

२७ श्रावण, काठमाडाैं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाहरूलाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्न सरकारले एकीकृत ‘युथ इकोसिस्टम’ निर्माणको कार्य अघि बढाएको बताउनुभएको छ । 

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले छरिएर रहेका विभिन्न सरकारी संयन्त्र र कार्यक्रमहरूलाई एकीकृत गरी युवा विकासका लागि एउटै प्रणाली विकास गर्न लागिएको जानकारी दिनुभएको हो । मन्त्री यादवकाअनुसार यस इकोसिस्टमले शिक्षादेखि राष्ट्र निर्माणसम्मको युवा जीवनको पूर्ण यात्रालाई जोड्नेछ । यो प्रणाली अन्तर्गत राष्ट्रिय युवा परिषद्, नेसनल एकेडेमी अफ भोकेसनल ट्रेनिङ, ७ सय ५३ वटै स्थानीय तहमा रहेका रोजगार तथा उद्यमशीलता सेवा केन्द्रहरू र युवा तथा साना व्यवसायी स्वरोजगार कोष जस्ता संयन्त्रहरूलाई आवद्ध गरिने मन्त्रालयले जनाएको छ । युवाहरूले अवसर र सेवा प्राप्तिका लागि विभिन्न कार्यालय धाउनुपर्ने झन्झटिलो अवस्थाको अन्त्य गर्न यो ऐतिहासिक कदम चालिएको मन्त्री यादवको दाबी छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्क्षा’ को प्रसङ्ग उल्लेख गर्दै उहाँले फरक भूगोल, भाषा र संस्कृति भएपनि सबै युवाको साझा लक्ष्य समृद्ध जीवन र देश निर्माणमा योगदान पु¥याउनु नै रहेको बताउनु भयो । युवाहरूको ज्ञान, सीप र सकारात्मक ऊर्जालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु सरकारको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘ शिक्षादेखि सीप, सीपदेखि रोजगारी, रोजगारीदेखि उद्यमशीलता, उद्यमशीलतादेखि लगानी, लगानीदेखि राष्ट्रिय वृद्धि हुँदै राष्ट्र निर्माणसम्म युवाको सम्पूर्ण यात्रालाई जोड्ने प्रणालीका रूपमा ‘युथ इकोसिस्टम’ निर्माण गर्दैछौँ । यस इकोसिस्टममा राष्ट्रिय युवा परिषद्, नेसनल एकेडेमी अफ भोकेसनल ट्रेनिङ, ७५३ स्थानीय तहमा रहेका रोजगार, सीप तथा उद्यमशीलता सेवा केन्द्र र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलगायतका संयन्त्रलाई आवद्ध गरी युवाका लागि सीप, रोजगारी, स्वरोजगार, उद्यमशीलता र नेतृत्व विकासलाई एकीकृत गर्दैछौँ। यसको नेतृत्व युवा तथा खेलकुद मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा अघि बढाइनेछ । छरपस्ट रहेका संयन्त्र, कार्यक्रम र प्रणालीलाई एकीकृत गरी यस्तो युथ इकोसिस्टम निर्माण गर्ने कार्य सम्भवतः ऐतिहासिक सुरुवात हो भन्ने मेरो विश्वास छ । हाम्रो लक्ष्य यस्तो नेपाल बनाउनु हो, जहाँ युवाले अवसर खोज्न एउटा कार्यालयबाट अर्को कार्यालय धाउन नपरोस् । प्रिय युवा साथीहरू, यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा अर्थात ‘भिन्न परिवेश, साझा आकाङ्क्क्षा’ अत्यन्त सान्दर्भिक छ । हाम्रो भाषा, संस्कृति, भूगोल, क्षमता तथा आर्थिक–सामाजिक परिवेश फरक हुन सक्छन्, तर हाम्रा आकाङ्क्क्षा साझा छन,परिवारको जीवन हिजोभन्दा आज राम्रो बनाउने, आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग गर्ने तथा सकारात्मक ऊर्जा र सिर्जनशीलतालाई देश निर्माणमा योगदान गर्ने ।यी साझा आकाङ्क्क्षालाई प्रभावकारी रूपमा सम्बोधन गर्दै युवाको ज्ञान, सीप र क्षमतालाई राष्ट्रिय निर्माणसँग जोड्नु सरकारको प्रमुख प्राथमिकता हो । हामीले युवालाई सधैँ ‘देशको भविष्य’ भन्दै आएका छौँ । म चाहन्छु, अबदेखि युवालाई भविष्य मात्र नभनौँ–युवा देशको वर्तमान पनि हुन् ।’

मन्त्री यादवले युवाहरू देशको भविष्य मात्र नभई ‘वर्तमान’ समेत भएको उल्लेख गर्दै उनीहरूको क्षमताको सदुपयोग तत्काल गरिनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल