२७ श्रावण, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको र प्रहरी महानिरीक्षक (आईजीपी) को निवासमा भएको चोरीको घटना ढाकछोप गरिएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्नुभएको छ ।
बुधवार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी प्रशासनभित्र मौलाएको अनियमितता र ठेकेदारहरूसँगको अस्वाभाविक सम्बन्धबारे गम्भीर प्रश्न उठाउनुभएको हो । उहाँले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर र लेखापालहरूले गर्ने काममा पारदर्शिता नभएको र प्रहरी सेवाबाट अवकाशप्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरीभित्रै सक्रिय रहेको दाबी गर्नुभयो । सांसद सुनारले प्रहरी महानिरीक्षकको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको र उक्त घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएर यातना दिएको आरोप लगाउनु भयो । त्यसैगरी, प्रहरीका लागि आवश्यक जुत्ता तथा लाठी (भाटा) खरिदमा समेत ठूलो भ्रष्टाचार भएको उहाँको जिकिर छ । छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन सांसद सुनारले वर्तमान गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने वा उनीहरूलाई निलम्बन गरिनुपर्ने माग राख्नुभयो । उहाँले भन्नुभयो, ‘आईजीपीको घरमा चोरी भएको हो कि होइन ? यदि चोरी भएको हो भने त्यो रकमको स्रोत के हो, उहाँले सार्वजनिक गर्नुपर्छ । भाटा खरिदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण छ । विपन्न वर्गका छोराछोरी प्रहरीमा भर्ना भएर देशको सेवा गरिरहेका छन्, तर उनीहरूले प्रयोग गर्ने सामग्रीको खरिदमा माथिल्लो निकायबाट व्रह्मलुट भइरहेको छ । बर्दी लगाएर वा पदमा बसेर आफूमाथिको छानबिनलाई प्रभावित पार्न पाइँदैन । सार्वजनिक खरिदमा हुने अनियमिततालाई फौजदारी अभियोगका रूपमा अगाडि बढाउनुपर्छ ।’
सांसद सुनारले यस विषयमा तत्काल संसदीय वा अन्य उपयुक्त छानबिन समिति गठन गर्न समितिका सभापतिलाई आग्रह गर्नुभयो । आफू विगत १८ वर्षदेखि सुरक्षा बिटमा पत्रकारिता गरेको अनुभव सुनाउँदै उहाँले ठेकेदार र प्रहरी अधिकारीहरूको कल डिटेल र मोबाइल नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचारका ठूला काण्डहरूलाई सामसुम पार्ने प्रवृत्ति अन्त्य हुनुपर्ने र दोषीलाई कठघरामा उभ्याउनुपर्ने उहाँको अडान छ ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar