|  

युवा देशको भविष्य मात्र होइन, वर्तमानका नेतृत्वकर्ता हुन्: सांसद थेबे

काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले युवाहरू देशको भविष्य मात्र नभई वर्तमानका मुख्य नेतृत्वकर्ता भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थेबेले युवालाई राज्यको नीति निर्माणको तहमा सहभागी गराउनुपर्नेमा जोड दिए । युवालाई नीति निर्माणमा सहभागी गराउने उद्देश्यले नै युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद् र युवा नीति निर्माण गरिएको उनले बताए ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा उनले युवाको परिभाषालाई उमेरमा मात्र सीमित गर्न नहुने बताए । संयुक्त राष्ट्रसंघले १६ देखि ४० वर्षसम्मको उमेर समूहलाई युवा माने पनि राजनीतिक र सामाजिक रूपमा युवाको अर्थ अझ व्यापक रहेको उनको भनाइ छ ।

२०६२/६३ को जनआन्दोलनपछि युवाबारेको भाष्य परिवर्तन भएको उल्लेख गर्दै थेबेले युवालाई ‘भविष्यका कर्णधार’ भन्दा ‘वर्तमानका कर्णधार’का रूपमा हेर्नुपर्ने बताए ।

‘राजनीतिक रूपमा युवा हुनु भनेको उमेरसँगै जोश, जाँगर, भिजन र क्षमता हुनु हो । इमान्दारिता, नैतिकता, स्पष्ट दृष्टिकोण र सक्रियताका साथ राज्यलाई नेतृत्व दिन सक्ने व्यक्ति नै वास्तविक युवा हो,’ उनले भने ।

युवाहरूले आत्मसम्मान र निष्ठाका साथ राज्यको नेतृत्व गर्न सक्ने गरी आफूलाई सक्षम बनाउनुपर्नेमा समेत उनले जोड दिए ।