२७ श्रावण, काठमाडाैं । नेपाल आयल निगमले आगामी दशैं–तिहारलगायतका चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ ।
बुधवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको पर्याप्त मौज्दात रहेकोले कुनै समस्या नआउने जानकारी दिनुभएको हो । औसतमा १३ देखि १४ दिनको स्टक कायम गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार निगमसँग हाल १ करोड ५० लाख लिटर पेट्रोल, ४ करोड ६० लाख लिटर डिजेल, १७ लाख लिटर मट्टितेल र ७० लाख लिटर हवाई इन्धन मौज्दात छ । पेट्रोलको दैनिक खपत करिब २० लाख लिटर रहेको उहाँले बताउनु भयो । एलपीजी ग्यासमा भने पछिल्लो समय केही दबाब देखिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपालमा हाल ५८ वटा ब्राण्डका एलपीजी सिलिण्डर कारोबारमा छन् । धेरै ब्राण्ड र फरक–फरक सिलिण्डरका कारण आपूर्ति व्यवस्थापनमा समस्या आउने भएकाले दीर्घकालीन रूपमा ब्रान्ड मर्जरको योजना अघि बढाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालमा एलपीजी आयातका लागि भारतका विभिन्न रिफाइनरी तथा डिपोमा निर्भर रहनुपर्छ । आयातको लागी नेपालसम्म एकतर्फी दूरी करिव १ हजार २०० किलोमिटर रहेको र दुईतर्फी ढुवानी दूरी करिब २ हजार ४०० किलोमिटर पुग्ने साहले बताउनुभयो । भारतबाट १ हजार २२५ सिलिण्डर बोकेको बुलेट नेपाल आइपुग्न करिब १० दिन लाग्ने उहाँको भनाइ छ । निगमले आवश्यकताअनुसार अग्रिम रूपमा ठूलो परिमाणमा ग्यास ल्याउने नीतिगत प्रयास गरेको पनि साहले बताउनुभयो । तर त्यस क्रममा खाली सिलिण्डरको मौज्दात थुप्रिएपछि अहिले एकैपटक माग बढ्दा आपूर्ति व्यवस्थापनमा दबाब परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘दशैँ तिहार यो चाडपर्व लक्षित तयारी गरिरहेका छोँ । हामीसँग आजको मितिमा स्टकहरु हेर्दाखेरि १ करोड ५० लाख लिटर पेट्रोल छ, टेन्टेटिभ २० लाख जति हामीलाई दैनिक खपत भइरहेको छ । डिजेल हामीसँग ४ करोड ६० लाख आजको मितिको स्टक छ । मट्टितेल १७ लाख छ । दशैँ तिहारमा थोरै बढ्ला । हवाई इन्धन ७० लाख छ, एभरेजमा हेर्दाखेरि १३ देखि १४ दिनको स्टक हामी मेन्टेन गरिरहेका छौँ । अहिले सबैको सरोकारको विषय एलपीजी नै हो । आजको मितिसम्म हामीसँग एलपीजीको ५८ वटा ब्राण्डबाट कारोबार भइरहेको छ । इन्डिया जस्तो ठुलो देशमा जम्मा तीनवटा ब्राण्डबाट भइरहेको छ, इन्डियन आयल, भारत पेट्रोलियम र एचपी । हामी शाखा शाखामा गएर पनि नाम छुट्यायौँ । अब यसको चाहिँ लङ टर्म सोलुसन प्लानमा राखेका छौँ । कसरी हुन्छ, यसलाई मर्जरमा नगइकन समस्याको समाधान निस्किदैन । सिलिन्डरको कारणले पनि हामी केही अप्ठ्यारोमा परिरहेका छौँ । हामी झण्डै एकतिरको डिस्ट्यान्स १२०० किलोमिटर टाढाबाट सिलिन्डर ल्याउनुपर्छ । दुईतिरको भाडा हेरियो भने २४०० किलोमिटर पर्छ । त्यो बुलेट जुन देखिन्छ, १२२५ सिलिन्डर बोक्नलाई हामीलाई झन्डै १० दिन लाग्छ । हामीले अहिले चाहिनेभन्दा बढी नै ग्यास बजारमा पठाएका छौँ । हामीलाई ३३ लाख चाहिनेमा ३४ लाख सिलिन्डर ल्याइसकेका छौँ, त्यसलाई मार्केटमा पठाइसक्यौँ ।’
साहले एलपीजी आयातमा समस्या नभएको दाबी गर्दै अन्तर्राष्ट्रिय रूपमा आपूर्ति अवरुद्ध हुने अवस्था नरहेमा आवश्यकता परे तत्कालै थप ग्यास ल्याउन सकिने बताउनु भयो । तर ढुवानी लागत र उपभोक्तामाथि पर्ने आर्थिक भारलाई ध्यानमा राखेर दीर्घकालीन रूपमा सन्तुलित आपूर्ति व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । चालु महिनामा खपत हुने अनुमानभन्दा बढी एलपीजी बजारमा पठाइएको उहाँको दाबी छ । उहाँले करिब ३४ लाख सिलिन्डर बजारमा पठाइसकिएको जानकारी दिनुभयो । एलपीजी अभावको गुनासो आएपछि निगमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्ट्यान्डबाइ वितरणको व्यवस्था गरेको जनाएको छ । टेकु, कालीमाटी र जडीबुटीलगायतका स्थानबाट आवश्यकताअनुसार उपभोक्तालाई ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको साहले बताउनु भयो । विशेष गरी वृद्ध, असहाय तथा सुत्केरीलाई ग्यास प्राप्त गर्न कठिनाइ भएमा घरमै डेलिभरीको व्यवस्था समेत गरिएको उहाँले बताउनु भयो । उहाँले स्थानीय प्रशासनसँगको समन्वयमा समेत ग्यास वितरण भइरहेको जानकारी दिनुभयो । साहले चाडपर्वका बेला उपभोक्तालाई अनावश्यक त्रासमा नपर्न आग्रह गर्दै निगमले आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले राज्यका निकाय उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन प्रतिबद्ध रहेको दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar