|  

चुनावी नतिजा र युवा मन्त्रिपरिषद्ले मात्रै सपना पूरा हुँदैन: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी परिणाम र युवा नेतृत्वको मन्त्रिपरिषद्ले मात्रै मुलुकले वर्षौंदेखि देखेको सपना पूरा नहुने बताएका छन् ।

बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले त्यसका लागि सरकारले परिणाममुखी काम गर्नुपर्ने बताए ।

सरकार गठन भएको चार महिना बितिसक्दा पनि सडकमा सरकारविरुद्धको आवाज कम नभएको भन्दै उनले सरकारलाई परिणाम देखाउने चुनौती थपिएको बताए ।

यद्यपि समाजमा धैर्यताको कमी हुँदै गएको र तत्काल परिणाम खोज्ने प्रवृत्तिले छिट्टै निराश हुने अवस्था सिर्जना गरेको उनको भनाइ छ ।

‘चुनावको नतिजाले मात्रै, संसद्को संख्याले मात्रै र क्याबिनेटको युवा नेतृत्वले मात्र हामीले वर्षौंदेखि देखेको सपना पूरा हुँदैन, त्यसका लागि हामीले काम गर्नुपर्ने हुन्छ,’ उनले भने ।

माइतीघरमा अझै भीड देखिएको उल्लेख गर्दै लामिछानेले नागरिक निराश भएर सडकमा आएका हुन् वा विरोधको बानी परिसकेको हो भन्ने छुट्याउन कठिन भएको बताए ।

‘चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ तर आवाजहरू उस्तै देखिन्छन् । माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु । आशा मरेर हो कि बानी परेर हो ? मैले छुट्याउन सकेको छैन,’ उनले भने ।

छिटो परिणाम खोज्ने प्रवृत्ति बढ्दै जाँदा समाजमा निराशा पनि छिट्टै बढ्न सक्ने उनको भनाइ छ । नागरिकले निराश हुने बानी बसाले कुनै पनि सरकारले तत्काल सन्तुष्ट पार्न नसक्ने उनले बताए ।

रास्वपाले संसद्मा उमेर समूहको मात्र नभई युवा पुस्ताको विचारको प्रतिनिधित्व गर्ने कुरामा सचेत रहेको लामिछानेले बताए । नागरिकमा छिटो परिणाम खोज्ने प्रवृत्ति कायम रहे विकल्प खोज्नुको विकल्प नरहने उनको भनाइ थियो ।

आफूहरू विकल्प खोज्न नभई विकल्प बन्न राजनीतिमा आएको दाबी गर्दै लामिछानेले अनुभवविहीन राजनीतिबाट केही हुन नसक्ने भन्ने भाष्य निर्माण हुनु पनि गलत भएको बताए । यस्तो भाष्यले मुलुकको हित गर्न नसक्ने उनको भनाइ थियो ।