|  

होर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान टक्करःविश्वभर तीव्र गतिमा रित्तिँदै तेल भण्डार

२८ श्रावण, काठमाडौं ।  इरानमाथि जारी युद्धका बिच रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रणलाई लिएर अमेरिका र इरानले परस्पर विरोधी दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमाथि ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी दोहोर्‍याएका छन् । तर, होर्मुज हुँदै हुने व्यावसायिक जहाजको आवतजावत भने एक सातायताकै न्यून अवस्थामा पुगेको छ ।

यसैबिच, तेहरानले आफ्नो अडान कायमै राख्दै अमेरिकासँगका माग पूरा नभएसम्म होर्मुज बन्द रहने जनाएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार होर्मुज र बाब अल–मन्देब जलमार्गमा भएको अवरोधका कारण यस वर्ष विश्वव्यापी तेल उत्पादन दैनिक ४३ लाख ब्यारेलले घट्न सक्छ ।

 एजेन्सीले विश्वभरका तेल भण्डार तीव्र गतिमा घटिरहेको चेतावनी दिएपछि स्ट्रेट अफ होर्मुज पुनः खोल्नु झन् अत्यावश्यक बन्दै गएको छ।