|  

अब सङ्खुवासभामा ग्याँस लिन नागरिकता वा परिचयपत्र अनिवार्य

२८ श्रावण, काठमाडौं ।  सङ्खुवासभामा खाना पकाउने एलपी ग्याँस अब अधिकृत बिक्रेतामार्फत मात्रै बिक्री गर्नुपर्ने भएको छ ।

आपूर्ति तथा बिक्री वितरणलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अधिकृत बिक्रेतालाई तोकिएको मूल्यभन्दा बढीमा ग्याँस बिक्री नगर्न र ग्राहकको परिचय खुल्ने कागजातसहित बिक्रीको अभिलेख राख्न निर्देशन दिएको छ।

कालोबजारी तथा कृत्रिम अभाव रोक्दै सर्वसाधारणलाई प्राथमिकता दिनसमेत बिक्रेतालाई भनिएको छ।सदरमुकाम खाँदबारीमा केही दिनयता ग्याँस अभाव हुँदा उपभोक्ता घण्टौं लाइन बस्नुपर्ने र महँगो मूल्य तिर्नुपर्ने अवस्था छ ।

सरकारले तोकेको मूल्य प्रतिसिलिण्डर २ हजार १५० रुपैयाँ भए पनि उपभोक्ताले २ हजार ३ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन्।