|  

मन्दिरको १० कठ्ठा जग्गा हिनामिना आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२८ श्रावण, काठमाडाैं । सुनसरीको धरान-१४ स्थित नरसिंह भगवान् मन्दिरको स्वामित्वमा रहेको सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरी बिक्रीसमेत गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार मन्दिरको १० कठ्ठा ५ धुर जग्गा झुट्टा विवरण र नक्कली जग्गाधनी खडा गरी तत्कालीन मन्दिरका पुजारी तिरुवा चौधरीको नाममा नामसारी गरिएको थियो। उक्त जग्गाको न्यूनतम मूल्याङ्कन ३६ लाख १० हजार रुपैयाँ रहेको छ। मुद्दामा तत्कालीन धरान नगरपालिका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, तत्कालीन सिङ्गिया गाविसका अध्यक्ष/सचिव कपिलमणि दाहाल, तत्कालीन मालपोत अधिकृत सुशील वैध, शाखा अधिकृत तुङ्गनाथ भण्डारी, नायब सुब्बा केदारबहादुर कार्की, धरान–१४ का तत्कालीन वडा सचिव उत्तम आले, पुजारी तिरुवा चौधरी र स्थानीय जग्गा कारोबारी पंकज घिमिरेलाई प्रतिवादी बनाइएको छ।

आयोगले प्रतिवादीहरूमध्ये सम्बन्धित व्यक्तिहरूको संलग्नताको आधारमा बिगो तथा सजायको मागदाबी गरेको जनाएको छ। अनुसन्धानमा तत्कालीन सिङ्गिया गाविस र धरान–१४ बाट झुट्टा व्यहोराको सर्जमिन मुचुल्का तयार गरी मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गर्न सिफारिस गरिएको खुलेको आयोगको दाबी छ। त्यही सिफारिसका आधारमा मालपोत कार्यालय सुनसरीले २०६५ जेठ २१ गते सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने निर्णय गरेको थियो।

अख्तियारका अनुसार जग्गा नामसारी गराउने प्रक्रियामा तत्कालीन गाविस सचिव कपिलमणि दाहालले सहयोग गरेबापत ५ हजार रुपैयाँ घुससमेत लिएका थिए। नामसारीपछि पुजारी चौधरी र जग्गा कारोबारी पंकज घिमिरेको मिलेमतोमा उक्त जग्गा बिक्रीसमेत गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। हाल भागमैनी थरुनीको नाममा रहेको उक्त जग्गा समेत जफत गरी पुनः नरसिंह भगवान् मन्दिरकै नाममा कायम गर्न अख्तियारले विशेष अदालतसमक्ष मागदाबी गरेको छ।आयोगले सार्वजनिक तथा धार्मिक संस्थाको स्वामित्वमा रहेको जग्गालाई प्रक्रियाको दुरुपयोग गर्दै व्यक्तिको नाममा पुर्‍याइएको घटनालाई भ्रष्टाचारजन्य कसुरका रूपमा अभियोजन गरेको हो।