२९ श्रावण, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँचतारे होटलको नामै उल्लेख गर्दै खाना पकाउने एलपी ग्यास लुकाएर कालोबजारी गरेको आशयमा सूचना सार्वजनिक गरेपछि होटल व्यवसायीले आपत्ति जनाएका छन्।
होटल एसोसिएसन नेपाल (हान) ले काठमाडौंस्थित एक सदस्य पाँचतारे अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनका क्रममा भेटिएको ग्यास मौज्दातलाई लिएर सार्वजनिक गरिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हानका अनुसार होटलमा राखिएको ग्यास होटलमा रहेका पाहुना, बुकिङको अवस्था तथा दैनिक तयार गरिने खानाको परिमाण र प्रकृतिअनुसार आवश्यक पर्ने मात्राको हो। त्यसैले उक्त मौज्दातलाई अस्वाभाविक वा कालोबजारीसँग जोड्न नहुने संघको भनाइ छ। ठूला होटलमा ठूलो संख्यामा कर्मचारी कार्यरत रहने र दैनिक बिहानको खाना, दिवा भोजन तथा रात्रिभोजसँगै विभिन्न कार्यक्रमका लागि ठूलो परिमाणमा खाना तयार गर्नुपर्ने भएकाले सामान्य व्यवसायको तुलनामा ग्यासको खपत स्वाभाविक रूपमा बढी हुने हानले जनाएको छ।
सभा, सम्मेलन, गोष्ठी, भोज तथा अन्य ठूला कार्यक्रम नियमित आयोजना हुने भएकाले सेवा अवरुद्ध नहोस् भन्न आवश्यक मात्रामा ग्यास मौज्दात राख्नुपर्ने संघको तर्क छ। होटलमा रहेको ग्यास बिक्री वा नाफा कमाउने उद्देश्यले नभई नियमित व्यावसायिक तथा सेवा प्रयोजनका लागि प्रयोग हुने हानले स्पष्ट पारेको छ। सरकारी नियम र मापदण्ड पालना गरेर सञ्चालन भइरहेका होटललाई अत्यावश्यक वस्तुको नियमित आपूर्तिको सुनिश्चितता नगरी एकतर्फी निर्देशन दिँदा अन्तर्राष्ट्रिय पर्यटकलाई अपेक्षित स्तरको सेवा दिन कठिन हुने संघको भनाइ छ। विशेषगरी प्रतिष्ठित होटलको नामै तोकेर सञ्चारमाध्यममा समाचार सार्वजनिक हुँदा नेपालको पर्यटन क्षेत्र र अन्तर्राष्ट्रियस्तरमा होटल व्यवसायको छविमा नकारात्मक असर पर्न सक्ने भन्दै हानले सरकारलाई अनुगमनका नाममा त्रास र अनिश्चितता सिर्जना नगर्न आग्रह गरेको छ।
पर्यटन क्षेत्रको सञ्चालन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित भएकाले अन्य सरकारी निकायबाट हुने अनुगमनमा समेत पर्यटन मन्त्रालयसँग आवश्यक समन्वय हुनुपर्ने हानको माग छ। संघले होटल तथा आतिथ्य क्षेत्रमा हुने सरकारी अनुगमनमा आफ्नो विशेषज्ञता उपलब्ध गराउन तयार रहेको जनाएको छ। होटल उद्योगको संवेदनशीलता, अत्यावश्यक सेवा प्रकृति र दैनिक सञ्चालनका व्यावहारिक पक्षलाई ध्यानमा राख्दै अनुगमन तथ्यपरक, मर्यादित र समन्वयात्मक हुनुपर्ने उसको भनाइ छ। अनुगमनका क्रममा देखिएका विषयलाई एकतर्फी रूपमा सार्वजनिक गर्दा होटल व्यवसायीको प्रतिष्ठामा मात्र नभई नेपालको पर्यटन छविमै असर पर्न सक्ने भन्दै हानले सम्बन्धित निकायलाई संयम अपनाउन आग्रह गरेको छ। अन्तरमन्त्रालय, विभाग, सरकारी निकाय तथा निजी क्षेत्रका सरोकारवाला संस्थाबीच समन्वय गरेर यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न आफूहरू सरकारसँग सहकार्य गर्न तयार रहेको हानले जनाएको छ। संकटका बेला राज्यलाई आवश्यक सहयोग र सहजीकरण गर्दै आएको उल्लेख गर्दै संघले आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।
ठूला अन्तर्राष्ट्रिय ब्रान्डका होटलका भान्सा सामान्य घरायसी भान्साभन्दा फरक र व्यावसायिक रूपमा सञ्चालन हुने भएकाले त्यहाँको ग्यास खपत र भण्डारणसम्बन्धी प्राविधिक तथा व्यवस्थापकीय पक्षको समेत अध्ययन गरेर मात्र अनुगमनका निष्कर्ष सार्वजनिक गर्न हानले सरकारको ध्यानाकर्षण गराएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar