|  

कांग्रेसको राष्ट्रिय भेलामा प्रतिवेदनमाथि छलफल, नयाँ शक्ति समीकरणको संकेत

३० श्रावण, काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला आज पनि जारी छ।

सुकेधारामा डा. शशांक कोइरालाको अध्यक्षतामा चलिरहेको भेलाको बन्दसत्रमा पार्टीको आन्तरिक राजनीति, सांगठनिक संरचना र आगामी रणनीतिसम्बन्धी विभिन्न प्रतिवेदनमाथि छलफल सुरु भएको छ। पूर्वप्रधानमन्त्री तथा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले शुक्रबार भेलाको उद्घाटन गरेका थिए। बन्दसत्रमा राजनीतिक, सांगठनिक तथा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि सहभागी नेताहरूले आ-आफ्ना धारणा राखिरहेका छन्। भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन, डा. प्रकाशशरण महतले आर्थिक दृष्टिकोणसम्बन्धी प्रतिवेदन, उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव तथा रमेश लेखकले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन्।

भेलामा देउवा र शेखर कोइराला पक्षका नेताहरूको सहभागितालाई कांग्रेसभित्र बदलिँदो शक्ति समीकरणको संकेतका रूपमा समेत हेरिएको छ। यसअघि पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका देउवा र शेखर पछिल्लो समय गगन थापा नेतृत्वमा अघि बढाइएको विशेष महाधिवेशन प्रक्रियाप्रति असहमतिको साझा धरातलमा देखिएका छन्। यद्यपि देउवा-शेखरबीचको सहकार्य दीर्घकालीन राजनीतिक समीकरण बन्ने हो वा तत्कालीन परिस्थितिमा बनेको रणनीतिक समझदारी मात्रै हो भन्ने अझै स्पष्ट भइसकेको छैन। तर आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नेतृत्वको समीकरण निर्माण हुने क्रममा शेखर कोइराला समूहको भूमिका निर्णायक बन्न सक्ने सम्भावना भने बढेको देखिएको छ। राष्ट्रिय भेलामा भइरहेको छलफललाई कांग्रेसभित्रको आगामी शक्ति सन्तुलन र नेतृत्व चयनको दिशाबारे संकेत दिने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।