३० श्रावण, काठमाडाैं । ऊर्जा विज्ञ तथा नेपाल विद्युत प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रवल अधिकारीले विद्यमान विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नरोक्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा उनले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गर्ने कानूनी आधार रहेको दाबी गरेका हुन् । विद्युत ऐन, २०४९ को दफा २१ र २२ ले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन बाटो खुला गरिदिएको बताए । उनकाअनुसार दफा २१ मा उत्पादित विद्युतको विक्री र दफा २२ मा विद्युतको आयात तथा निर्यातसम्बन्धी व्यवस्था छ । ऐनमा ‘विद्युत व्यापार’ भन्ने शब्द स्पष्ट रूपमा उल्लेख नभएपनि विद्युत खरिद, विक्री, आयात र निर्यातका विषय समेटिएको उनको भनाइ छ । दफा २१ ले विद्युत उत्पादनको अनुमति प्राप्त व्यक्ति वा निकायले आफूले उत्पादन गरेको विद्युत विक्री गर्न सक्ने व्यवस्था गरेको अधिकारीले बताए ।
उनकाअनुसार उत्पादित विद्युत राष्ट्रिय ग्रिडमार्फत प्रवाह गर्नुपर्ने र सरकारले आफैँ विद्युत खरिद गर्न वा अन्य निकायमार्फत खरिद गराउन सक्ने व्यवस्था ऐनमा छ । उनले यही व्यवस्थालाई आधार मान्दा नेपाल विद्युत प्राधिकरण मात्र एकल खरिदकर्ता हुने मोडलमा सिमित हुनु नपर्ने बताए । निजी क्षेत्रबाट उत्पादित विद्युत अन्य संस्थाले समेत खरिद गर्नसक्ने ‘मल्टिपल बायर’ मोडल ऐनको भावनाअनुसार कार्यान्वयन गर्न सकिने उनको तर्क छ । त्यस्ता कारोबारको दर निर्धारण तथा नियमनमा विद्युत नियमन आयोगको भुमिका रहने उनले बताए ।
उनले विद्युत ऐन, २०४९ लाई उदार व्याख्या गर्न आवश्यक रहेको बताए । उनकाअनुसार ऐनमा ‘विद्युत् व्यापार कम्पनीमार्फत विद्युत् खरिद-विक्री’ भन्ने शब्दावली नभएपनि सरकारले अन्य निकायमार्फत विद्युत् खरिद गराउनसक्ने व्यवस्था राखिनुले बहुपक्षीय खरिदको सम्भावना देखाउँछ । विद्युत् आयात-निर्याततर्फ पनि ऐनले स्पष्ट व्यवस्था गरेको उनको भनाइ छ । दफा २२ को उपदफा (१) ले अनुमति प्राप्त व्यक्तिले विद्युत आयात गरी वितरण गर्न चाहेमा नेपाल सरकारको पूर्वस्वीकृति लिएर आयात गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यस्तै, उपदफा (२) ले अनुमति प्राप्त व्यक्तिले आफूले उत्पादन गरेको विद्युत् विदेशमा निर्यात गर्न चाहेमा नेपाल सरकारसँग सम्झौता गरी निर्यात गर्नसक्ने व्यवस्था गरेको अधिकारीले बताए । तर दफा २२ मा ‘अनुमति प्राप्त व्यक्ति’ भन्ने शब्दावली प्रयोग गरिएकाले त्यसको दायरा मुख्यतः उत्पादन, प्रसारण र वितरणका अनुमतिप्राप्त संस्थासँग जोडिएको उनले उल्लेख गरे । यही कारणले विद्युत व्यापारका लागि छुट्टै कम्पनी वा संस्थालाई लाइसेन्स दिन सकिने विषयमा हालसम्म संकुचित व्याख्या हुँदै आएको उनको भनाइ छ । उनले दफा २१ र २२ लाई छुट्टाछुट्टै नभई समग्र रूपमा हेर्नुपर्ने बताए । उनकाअनुसार दफा २१ ले अन्य निकायमार्फत विद्युत खरिद गराउन सक्ने व्यवस्था गर्नु र दफा २२ ले आयात–निर्यातको व्यवस्था गर्नुले विद्युत कारोबारमा प्राधिकरणबाहेकका संस्थाको सम्भावनालाई समेत संकेत गर्छ । शब्दको साँघुरो परिभाषामा रहेर पावर ट्रेडिङ कम्पनीलाई लाइसेन्स दिन सकिँदैन भनेर बुझ्नु र बुझाउनु नहुने उनको भनाई छ । उनले भने,‘विद्युत ऐन २०४९ को दफा २१ मा उत्पादित विद्युतको बिक्रि गर्ने सम्बन्धमा व्यवस्था गरिएको छ भने दफा २२ मा विद्युतको आयात निर्यातको सम्बन्धमा व्यवस्था गरिएको छ । विद्युत व्यापार भन्ने शब्द त प्रयोग गरिएको छैन तर विद्युतको खरिद भनिएको छ, बिक्रि भनिएको छ, विद्युतको आयात भनिएको छ, विद्युतको निर्यात भनिएको छ । हामीले दफा २१ र दफा २२ दुबै समेटेर एकै साथ राखेर हे¥यौं भनेदेखि मल्टिपल बायरको कल्पना ऐनले गरिसकेको छ । विद्युत उत्पादन गरेको बिजुली बीचको कुनै निकायहरुले खरिद गर्नसक्छ र आयात निर्यातको पनि त्यहाँ व्यवस्था छ । शब्दको सागुरो परिभाषामा रहेर हामीले त्यहाँ पावर ट्रेडिङ कम्पनीहरुलाई लाइसेन्सी दिन सकिदैन भनेर त्यसरी बुझ्नु र बुझाउनु हुदैन । विद्युत ऐन, २०४९ अनुसार नै विद्युत नियमन आयोग २०७४ मा जारी भएको हो । यही अवस्थामा विद्युत ऐन, २०४९ लाई नै टेकेर २०७३ सालमा नेपाल सरकारले नै नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिसत सेयर रहेको र आरपिजीसिएल भिउसिएल र एचआइडिसीएल बाँकी सेयर स्वामित्वमा रहेको त्यो सरकारी कम्पनीलाई नेपाल सरकारले नेपालको पहिलो विद्युत व्यापार लाइसेन्स प्रदान गरिसकेको छ भनेदेखि नेपालको त्यही कम्पनी ऐन अन्तर्गत दर्ता भएको एउटा संस्थालाई नेपालको यही कानुनमा टेकेर यदि लाइसेन्स दिन मिल्छ भने अरुलाई दिन नमिल्ने हुँदैन । कम्पनी ऐन अनुसार दर्ता गरिएका निजी क्षेत्रबाट दर्ता गरिएका यही विद्युत ऐनका दफा २१ दफा २२ हेरेर निजी क्षेत्रले विद्युत व्यापार गर्न पाउनु प¥यो भन्दा सरकारले स्वीकृत दिन सक्छ । यही ऐन प्रयोग गरेर एक पटक दिईपनि सकियो । फेरी अहिले अलि न्यारो ब्याख्या गर्न आवश्यक छैन, उदार हुनु जरुरी छ ।’
सरकारले यसअघि नै विद्युत ऐन, २०४९ को आधारमा विद्युत् व्यापार कम्पनीलाई लाइसेन्स प्रदान गरिसकेको उनले बताए । उनकाअनुसार २०७३ सालमा सरकारले नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत सेयर स्वामित्व रहेको तथा राष्ट्रिय प्रशारण ग्रिड कम्पनी, विद्युत उत्पादन कम्पनी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीलगायतको समेत सेयर स्वामित्व रहेको कम्पनीलाई नेपालको पहिलो विद्युत् व्यापार लाइसेन्स प्रदान गरेको थियो । सरकारी स्वामित्वको कम्पनीलाई सोही ऐनको व्याख्याका आधारमा विद्युत् व्यापारको अनुमति दिन सकिने तर निजी क्षेत्रबाट कम्पनी ऐनअनुसार स्थापना भएका संस्थालाई विद्युत व्यापारमा प्रवेश गराउन नसकिने भन्ने नहुने उनको तर्क छ ।
नेपालमा विद्युत् उत्पादन बढ्दै जाँदा उत्पादित विद्युत्को बजार व्यवस्थापन, खरिद–विक्री र आयात–निर्यातका लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उनले बताए । निजी क्षेत्रको प्रवेशले नेपाल विद्युत प्राधिकरणलाई समेत सहयोग पुग्ने उनको भनाइ छ । उनले अहिले निजी क्षेत्र विद्युत व्यापारमा प्रवेश गर्न खोजिरहेको अवस्थामा कानूनको संकुचित व्याख्या गर्नुको सट्टामा यसको मूल भावना र विगतमा गरिएको अभ्यासलाई समेत आधार बनाएर निर्णय गर्नुपर्नेमा जोड दिए । –न्युज एजेन्सी नेपाल ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar