|  

कांग्रेसको वैधानिकतामा अलमल आवश्यक छैन : विश्वप्रकाश

३० श्रावण, काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको सभापति र केन्द्रीय समितिको वैधानिकताबारे कुनै अन्योल नरहेको बताएका छन्।

शनिबार दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन ललितपुर पुगेका शर्माले विधिपूर्वक सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत मान्यता दिएको दाबी गरे।उनले सर्वोच्च अदालतको फैसला सबैले स्वीकार्नुपर्ने भन्दै अदालतले कांग्रेसको केन्द्रीय समिति बदर नगरेको र सभापतिका रूपमा गगन थापा नै कायम रहेको बताए।

पार्टी विभाजनको सम्भावना अस्वीकार गर्दै शर्माले कांग्रेसमा विधिको सर्वोच्चता कायम रहने बताए। फुटसलको उदाहरण दिँदै उनले मैदानमा पहेँलो वा रातो कार्ड देखाउने अधिकार दर्शकलाई नभई रेफ्रीलाई भएजस्तै राजनीतिमा आधिकारिक निर्णय गर्ने अधिकार निर्वाचन आयोग र सर्वोच्च अदालतसँग मात्र रहेको टिप्पणी गरे।