|  

प्रवासी नेपालीलाई वाग्लेको आह्वान : ‘नेपालमा ढुक्क भएर लगानी गर्नुहोस्’

३० श्रावण, काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।

चीनको क्वाङचाेउमा सुरु भएको एनआरएनएको ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियोमार्फत सम्बोधन गर्दै उनले नेपालमा लगानीको वातावरण बनाउन सरकार सक्रिय रहेको बताए। वाग्लेले पर्यटन, सूचना प्रविधि, एआई, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापनका क्षेत्रमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरे। उनका अनुसार सरकारले लगानीमैत्री नीति, रोजगारी सिर्जना र कर प्रणाली सुधारलाई प्राथमिकता दिएको छ। सरकारले प्रवासी नेपालीको पुँजीसँगै ज्ञान र सीपसमेत नेपाल भित्र्याउने नीति लिएको उल्लेख गर्दै उनले एनआरएन लगानीलाई सहज बनाउन धितोपत्रसम्बन्धी नियमावली संशोधन गरिएको जानकारी दिए। सरकार र एनआरएन इन्भेस्टमेन्ट फन्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्‍याइएको उनको भनाइ छ। रुग्ण उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको भन्दै वाग्लेले त्यसमा पनि प्रवासी नेपालीको ज्ञान, सीप र लगानी उपयोग गर्न सकिने बताए।