|  

विदेशी उपाधिको समकक्षता अब यूजीसीबाट, पहिलो चरणमै ३० जनाको निर्णय

३१ श्रावण, काठमाडाैं । विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएपछि विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले प्रक्रिया अघि बढाएको छ।

आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता निर्धारण गरिसकेको जनाएको छ। सरकारले त्रिभुवन विश्वविद्यालयबाट खोसेर समकक्षता निर्धारणको अधिकार यूजीसीलाई दिएपछि आयोगले साउन २५ गतेदेखि निर्णय गर्न थालेको हो। अध्यक्ष प्राडा खड्गबहादुर केसीका अनुसार हाल त्रिभुवन विश्वविद्यालयकै कार्यविधिअनुसार काम भइरहेको छ भने आयोगको नयाँ कार्यविधि स्वीकृतिको चरणमा छ। आयोगले आवश्यक विज्ञ जनशक्ति अभाव भएपछि त्रिभुवन विश्वविद्यालयबाट कर्मचारी काजमा ल्याएर काम गरिरहेको छ। प्रस्तावित नयाँ कार्यविधिमा आयोगका सचिवको अध्यक्षतामा समकक्षता निर्धारण समिति गठन गर्ने व्यवस्था गरिएको छ।

यूजीसीले साउन १ गतेदेखि समकक्षताका लागि अनलाइन आवेदन खुला गरेको थियो। यसअघि विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी त्रिविको पाठ्यक्रम विकास केन्द्रले सम्हाल्दै आएको थियो।सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत यूजीसी ऐन संशोधन गरी विदेशी शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने अधिकार आयोगलाई दिएको हो। नयाँ व्यवस्थासँगै विदेशी विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता एउटै केन्द्रीय निकायबाट व्यवस्थित हुने आधार बनेको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन्। यसअघि त्रिविबाट जारी भएका समकक्षता प्रमाणपत्र भने पुनः समकक्षता गराउनुपर्ने छैन।