|  

कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा आवश्यक : शक्ति बस्नेत

३१ श्रावण,काठमाडौं । नेकपा नेता शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिस्ट आन्दोलन अहिले गम्भीर आत्मसमीक्षाको मोडमा पुगेको बताएका छन् ।

परिवर्तनको अपेक्षामा रहेका नागरिकको जनमत कम्युनिस्ट दलहरूबाट टाढिँदै जानुको कारण पहिचान नगरेसम्म वामपन्थी आन्दोलनले नयाँ दिशा लिन नसक्ने उनको भनाइ छ । आज काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै बस्नेतले कम्युनिस्ट राजनीतिलाई व्यक्तिकेन्द्रित प्रवृत्तिबाट मुक्त गर्नुपर्नेमा जोड दिए । उनका अनुसार विचार, राजनीति र राजनीतिक प्रणालीबारेको बहस कमजोर हुँदै जाँदा उपलब्धि र असफलताको जिम्मेवारी व्यक्तिमा केन्द्रित गर्ने प्रवृत्ति बढेको छ ।

बस्नेतले परिवर्तनको खोजीमा रहेको जनमत कम्युनिस्ट शक्तिहरूबाट किन टाढियो भन्ने प्रश्नलाई अहिलेको बहसको मुख्य विषय बनाउनुपर्ने बताए । विचार र प्रणालीभन्दा व्यक्तिको भूमिकालाई प्राथमिकता दिँदा कम्युनिस्ट आन्दोलनकै वैचारिक आधार कमजोर बन्ने उनको तर्क छ । विश्वव्यापी रूपमा नवउदारवादको प्रभाव बढ्दै गए पनि सामाजिक तथा आर्थिक असमानता र विभेद घटाउन नसकिएको उनले बताए । वर्तमान राजनीतिक परिस्थिति वामपन्थी र दक्षिणपन्थी धारबीच ध्रुवीकृत हुँदै गएको उल्लेख गर्दै बस्नेतले जनताको असन्तुष्टिलाई सही दिशामा लैजान वामपन्थी आन्दोलनले नयाँ विचार र राजनीतिक कार्यदिशामाथि गम्भीर बहस गर्नुपर्ने बताए ।

उनले कम्युनिस्ट आन्दोलनलाई पुनः सशक्त बनाउन विगतका राजनीतिक अभ्यासको निर्मम समीक्षा आवश्यक रहेको धारणा राखे । २०६३ देखि २०८२ सालसम्म विभिन्न समयमा कम्युनिस्ट दलहरूले मुलुकको नेतृत्व गर्ने अवसर पाए पनि त्यसबाट आम नागरिकलाई पर्याप्त आश्वस्त र विश्वस्त बनाउन नसकिएको उनको टिप्पणी थियो । बस्नेतका अनुसार विगतका कमजोरी पहिचान गर्दै जनताको अपेक्षा, आवश्यकता र असन्तुष्टिलाई सम्बोधन गर्ने नयाँ राजनीतिक संस्कृति र प्रणाली विकास गर्न सके मात्र वामपन्थी आन्दोलनले पुनः जनविश्वास हासिल गर्न सक्छ ।