|  

वैदेशिक रोजगारी ठगीमा संलग्नलाई राजनीतिक पहुँच नहेरी कारबाही गर्न शाहीको माग

०१ श्रावण, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा नेपाली युवालाई ठगी गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले वैदेशिक रोजगारीमा जाने क्रममा ठूलो संख्यामा नेपाली युवा विभिन्न प्रकारका ठगीको सिकार भइरहेको दाबी गरेका छन्। उनले ठगीमा संलग्न व्यक्तिको राजनीतिक आबद्धता, पहुँच वा पदका आधारमा कारबाहीमा फरक गर्न नहुने बताएका छन्। शाहीका अनुसार अपराध गर्ने व्यक्ति जुनसुकै दलसँग सम्बन्धित भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ। शाहीले विगतमा सत्तासँग नजिक रहेका कतिपय व्यक्ति सत्ता परिवर्तनसँगै दल परिवर्तन गरेर पुनः राजनीतिक शक्तिकेन्द्रको वरिपरि देखिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले यस्तो प्रवृत्तिको अन्त्य गर्दै वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्। दोषीको राजनीतिक पहुँच र पद नहेरी अपराधको प्रकृतिका आधारमा हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने उनको माग छ। शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग हामी जोडदार माग गर्दछौँ।’