|  

गगन-देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला

०१ भदाै, काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी सभापति गगन थापा र निःवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताएका छन्। 

संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन् । उनले दुवै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पाटीभित्र देखिएको विवाद समाधानको लागि आफू तयार रहेको तर आफ्नो मात्रै प्रयासले सम्भव नहुने बताए । उनले सभापति थापासँग आफूले यसअघि पनि पटक-पटक भेटेर संवाद र सहमतिका लागि प्रयत्न गरेको बताए । उनले भने,‘गगन कुमार थापा र शेरबहादुरजीको बीचको जुन दूरी छ, त्यसलाई घटाउन, दुईजनाको बीचमा संवाद हुन ताकि अगाडि बढोस् भनेर म प्रयत्न गर्नेछु ।’

कोईरालाले काँग्रेसभित्र पछिल्लो समय बढेको आरोप-प्रत्यारोप र गालीगलौजप्रति असन्तुष्टि जनाए । उनले विगतमा पार्टीभित्र विवाद भएपनि त्यसले बौद्धिक विमर्शको रूप लिने गरेको स्मरण गरे ।पार्टीभित्रको भाषा र राजनीतिक संस्कार निकै खस्किएको भन्दै उनले नेतृत्व तहबाटै संयम अपनाउनुपर्ने बताए । वरिष्ठ नेताहरूको बीचमा नै गालीगलौज हुनु कांग्रेसका लागि सुहाउने विषय नभएको उनको भनाई छ । उनले भने,‘वीपी हुँदा यस्तो गालीगलौज हुँदैनथ्यो । विवाद हुन्थ्यो, तर एउटा सीमित घेरामा बस्थे, यस्तो किसिमको छरपस्ट त हुँदैनथ्यो । मलाई सम्झना छ, प्रदीप गिरीज्यू विवाद गर्नुहुन्थ्यो, प्रश्नहरु गर्नुहुन्थ्यो । बौद्धिक विमर्श, हो त्यो विमर्श भनौं न । त्यहाँ झगडा, लुछाचुँडी हुँदैनथ्यो । आदर्शहरुको बारेमा बीपीले भन्नुहुन्थ्यो, त्यसलाई डिफेन्ड उहाँले गर्नुहुन्थ्यो । त्यसको प्रतिपक्षमा उहाँ हुनुहुन्थ्यो । अनि उहाँहरुको आदान प्रदान हामी सुन्थ्यौं ।’

उनले पार्टी एकताका लागि दुवै पक्षले आफ्ना स्वार्थ स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने बताए । विवादको मूल कारण पद र नेतृत्वको विषय रहेको उनको भनाई छ । उनले दुबै पक्ष एकै ठाउँमा बसेर आफ्ना कुरा खुलस्त राख्नुपर्नेमा जोड दिए । उनले आफू कुनै पक्ष नभई पार्टी मिलाउने प्रयासमा रहेको दाबी पनि गरे । काँग्रेसभित्र सहमति हुने दाबी गर्दै उहाँले कहिले र कसरी मिल्ने भन्ने चाँही अहिले नै भन्न नसकिने बताए । उनले भने,‘हृदय सफा गरेर एकदम क्लियरली भन्न सक्नुप¥यो, दुवै पक्षले भन्न सक्नुपर्यो, हामीलाई के चाहिन्छ । चाहिने त त्यही पद हो, अरु के चाहिने ? हामी बीच लाइनमा छौं, हामी मिलाएर जान्छौं । भविष्य हेर्दै जानुहोला मिल्छ । अब कहिले मिल्छ, कसरी मिल्छ यो भन्न गाह्रो छ, तर मिल्छ ।’

उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सके काँग्रेसको शक्ति थप बलियो हुने विश्वास समेत व्यक्त गरे । उनले पार्टीभित्रका वरिष्ठ नेताहरुलाई समेटेर लैजान पनि पार्टी सभापति थापालाई आग्रह गरे ।–न्युज एजेन्सी नेपाल