|  

धानको न्युनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग

०१ भदाै, काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम सुप्रभात यादवले धानको न्युनतम समर्थन मूल्य बढाउन माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले तराईमा उत्पादन हुने बासमती धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ र बंगलीया धानको न्यूनतम समर्थन मूल्य कम्तीमा ५ हजार रुपैयाँ निर्धारण गर्न माग गर्नुभयो । उहाँले अन्य जातका धानको समेत उचित समर्थन मूल्य तोक्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले किसानले मल, बीउ र सिंचाईको अभाव झेलिरहेको भन्दै कृषि उत्पादनका लागि आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य नपाउँदा ऋणको भार बोक्न बाध्य भएको भन्दै उहाँले कृषि बिमा कार्यक्रम प्रभावकारी बनाउन समेत माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘किसानका समस्या मैले मेरै आँगनमा देखेको छु । कयौँ दिन लाइन बस्दा पनि मल नपाएर रित्तै हात फर्केका किसानका मलिन अनुहार सिचाईं अभावमा सुक्दै गएका धानका खेतले मलाई दुःखित् बनाएको छ । रातदिन नभएर खेतमा सुन फलाउने किसान उचित मूल्य नपाएर ऋणको भारी बोक्न बाँध्य छन् । त्यसैले तराईमा खेती हुने बासमती धानको समर्थन मूल्य प्रतिक्वीन्टल १० हजार र बंगलीया धानको समर्थन मूल्य प्रतिक्वीन्टल कम्तिमा पाँच हजार कायम गरियोस् । र अरु धानको समेत उचित मूल्य तोकियोस् । म सरकारसँग जोडदार माग गर्दछु । बिउ, मल र सिचाईं सहज बनाइयोस् । साथै कृषि बिमा र मूल्यको उचित मूल्य तोकि किसानको स्तर उकासियोस् ।’  

सांसद यादवले किसानको जीवनस्तर उकास्न बीउ, मल, सिंचाई, कृषि बीमा र कृषि उपजको उचित मूल्य निर्धारणलाई प्राथमिकतामा सरकारसँग जोडदार माग गर्नुभयो । –न्युज एजेन्सी नेपाल