|  

वेश्यावृत्ति’ शब्द हटाउन रास्वपा सांसद अधिकारीको माग

०१ भदाै, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी प्रस्तावित विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दप्रति आपत्ति जनाएकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले पेस गरेको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक-२०८३ माथिको छलफलमा सहभागी हुँदै सांसद अधिकारीले उक्त शब्द हटाउन माग गरेकी हुन्। उनले ‘वेश्यावृत्ति’ को सट्टा ‘यौनजन्य क्रियाकलाप’ शब्द प्रयोग गर्न उपयुक्त हुने धारणा राखिन्। उनका अनुसार कानुनमा प्रयोग हुने शब्दावली पीडितलाई थप कलंकित बनाउनेभन्दा अधिकार र सम्मानलाई केन्द्रमा राख्ने खालको हुनुपर्छ। अधिकारीले मानव बेचबिखनका पीडितको हकमा ‘पुनःस्थापना’ शब्दको सट्टा ‘पुनःसमायोजन’ प्रयोग गर्न पनि सुझाव दिइन्।

मानव बेचबिखन नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले पीडितको पुनःस्थापनाका लागि छुट्याइएको कोषको रकम बढाउनसमेत सरकारसँग माग गरिन्। पछिल्लो समय प्रलोभन तथा विभिन्न बहानामा नाबालिकालाई फसाएर उनीहरूको डिम्ब बिक्री गराउने घटना बढ्दै गएको दाबी गर्दै सांसद अधिकारीले यस विषयमा राज्यका संयन्त्र थप सचेत र सक्रिय हुनुपर्ने बताइन्। उनले मानव बेचबिखनको बदलिँदो स्वरूपअनुसार कानुनी व्यवस्था परिमार्जन गर्दै पीडितको संरक्षण, पुनःसमायोजन र न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।