|  

मनसुन सक्रिय : देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

०२ श्रावण,काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानसँगै कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने पहाडी भूभागका धेरै तथा तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ। राति देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। राति कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।