|  

उपसभामुख ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी

०२ भदाै, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्।

ठाकुरले सोमबार श्रेष्ठविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी तुलबहादुर कार्कीले पुष्टि गरेका छन्। एसएसपी कार्कीका अनुसार जाहेरी प्रहरीमा दर्ता भई प्रक्रियामा रहेको छ। यद्यपि, जाहेरीमा उल्लेख गरिएको कसुर र अन्य विवरणबारे प्रहरीले तत्काल स्पष्ट जानकारी दिएको छैन। ठाकुरले यसअघि जनआस्था साप्ताहिकमा आफ्नो मानहानी हुने गरी समाचार प्रकाशित गरिएको भन्दै सार्वजनिक रूपमा आपत्ति जनाएकी थिइन्। सो विषयमा उनले प्रेस काउन्सिल नेपालमा समेत उजुरी दिएकी थिइन्।

उपसभामुख ठाकुरले जाहेरी दिएको दिनमै पत्रकार श्रेष्ठ सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा रिहा भएका थिए। श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान अघि बढाउन परमादेश दिएको थियो। अब ठाकुरको जाहेरीपछि प्रहरीले त्यसमा उल्लेखित विषय र कसुरका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउनेछ।