|  

अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके-३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण

०३ भदाै, काठमाडाैं । चीनले बुधवार बिहान पुनः प्रयोग गर्न मिल्ने रकेट ‘जुके-३’ को सफल प्रक्षेपण गरेको छ ।

यस अभियानका क्रममा चीनले पहिलो पटक रकेटको पहिलो खण्डलाई जमिनमा सफलतापूर्वक अवतरण गराउन सफलता प्राप्त गरेको हो । उत्तर-पश्चिमी चीनस्थित दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट जोनबाट बेइजिङ समयअनुसार बुधवार बिहान ७ः३५ बजे ‘जुके-३ वाई-२’ रकेट प्रक्षेपण गरिएको थियो । निर्धारित योजनाअनुसार नै रकेटको पहिलो खण्ड जमिनमा अवतरण भएको र उक्त उडान अभियान पूर्णरूपमा सफल भएको अधिकारीहरूले जनाएका छन् ।

यसअघि गत जुलाई १० मा चीनले ‘लङ मार्च-१० बी’ रकेटको पहिलो खण्डलाई समुन्द्रमा सफलतापूर्वक अवतरण गराएको थियो । तर अवतरणका लागि खुट्टाहरूको प्रयोग गरी जमिनमा नियन्त्रित रूपमा रकेट फिर्ता ल्याइएको यो चीनको पहिलो सफल परीक्षण हो । यस उपलब्धिलाई चीनको पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको क्षेत्रमा एक ठूलो फड्को मानिएको छ । यो सफलतासँगै चीनले अन्तरिक्ष अभियानको लागत घटाउने र रकेट प्रविधिलाई थप दिगो बनाउने दिशामा महत्वपूर्ण माइलढुङ्गा पार गरेको छ ।