|  

राप्रपा सरकारमा सहभागी हुने, थापा नेतृत्वमा तीनदलीय सरकार बन्ने

०३ भदाै, काठमाडाैं । नेकपा एमालेका नेता किरण थापा मगरले आफ्नो नेतृत्वमा बन्न लागेको प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी हुने बताएका छन्।

एमाले, नेकपा र राप्रपा सम्मिलित सरकार गठनका लागि थापाले दाबी पेस गरेका हुन्। यसअघि राप्रपाले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरे पनि थापाले त्यसलाई सरकारमा जाने उपयुक्त समयको प्रतीक्षाका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार राप्रपालाई सरकारमा सहभागी गराउन विशेष रूपमा मनाउनुपर्ने अवस्था नरहेको र पार्टीले यसअघि नै तय गरेको नीतिअनुसार अहिले सरकारमा सहभागी हुन लागेको हो। थापाले एमाले र नेकपाले राप्रपासँगको संवादमार्फत सरकारमा सहभागी हुने उपयुक्त समय यही भएकोमा सहमति जुटाउन सफल भएको दाबी गरे। ‘राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले सरकारमा नजाने भनेको थिएन। उहाँहरूले उचित समयमा सरकारमा जाने भन्नुभएको थियो। अहिले त्यो उचित समय आएको छ,’ थापाले भने।

राप्रपाको समर्थनसँगै प्रदेशमा सरकार गठनका लागि आवश्यक बहुमत जुटेको भन्दै थापाले अब बलियो सरकार निर्माण हुने विश्वास व्यक्त गरे। उनका अनुसार बिहीबार अपराह्न ४ बजेपछि राप्रपाबाट सहभागी हुने मन्त्रीहरूले समेत शपथ लिने तयारी छ। तीन दलबीच सहमति बनेपछि एमाले, नेकपा र राप्रपा सम्मिलित सरकारले हाल कायम ८ वटा मन्त्रालयको संरचनाभित्र रहेर प्रदेश सञ्चालन गर्ने थापाले बताए। यससँगै लामो समयदेखि चलिरहेको सत्ता समीकरणको अन्योल अन्त्य गर्दै तीनदलीय सहकार्यमा नयाँ सरकार गठनको बाटो खुलेको छ।