०३ भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पार्नुभएको छ ।
बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै यस्तो बताउनुभएको हो । मन्त्रीहरुको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भएपनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरु नरहेको उहाँले बताउनु भयो । उहाँले सरकारलाई प्रश्न गर्ने अधिकार सबैसँग रहेको र रास्वपाका सांसदहरुले पनि प्रश्न सोध्ने गरेको उल्लेख गर्नुभयो । त्यसलाई मन्त्री परिवर्तनसँग जोडेर हेर्न नहुने उहाँको भनाई छ । रास्वपाभित्र प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने परिपाटी रहेको उहाँको दाबी छ । सभापति लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र साहबीच कुनै मतभेद वा विवाद नरहेको पनि बताउनु भयो । उहाँले दुई नेताबीच विवाद रहेको समाचारले आफूहरूलाई झन् नजिक ल्याउने टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भनेर लेखेका विषयलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने पनि बताउनु भयो । प्रधानमन्त्री कलाकार र कवि पनि भएकाले उहाँको अभिव्यक्तिका प्रत्येक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको उहाँको भनाई छ । उहाँले सिङ्गो पार्टी प्रधानमन्त्रीसँगै उभिएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रश्नहरू आउनु भनेको स्वाभाविक हो, त्यसलाई हामी अस्वाभाविक लिँदैनौँ । रास्वपाभित्र आफ्नै दल भएपनि हामी प्रश्नहरू सोध्ने गरेका छौँ, तपाईँले देख्दै आउनुभएको छ, हामी गर्छौँ प्रश्न गर्ने हाम्रो एउटा परिपाटी पनि छ । त्यसैलाई नै सम्बोधन गर्नको निमित्त हामीले यो छलफल राखेका हौँ । यसको अर्थ कुनै मन्त्री फेर्ने बिल्कुल छैन । कुनै त्यस्तो तयारी पनि छैन । त्यस्तो कुनै छलफल पनि छैन । हामी बीचको कुनै कहिलेकाहीँ तपाईँहरूलाई रमाइलोको लागि लेखिदिने पनि हुन्छ, दुईजना बीचको धार नै अलग छ कि क्या हो, झगडै परेछ कि क्या हो भन्नुहुन्छ । त्यो तपाईंहरूको समाचारले हामीलाई अझ बढी नजिक ल्याउन चाहिँ मद्दत गर्छ । त्यसकारणले यस्ता समाचार लेख्न नरोक्नुहोला । प्रधानमन्त्रीले लेख्नुभएको विषय अर्कै होे, उहाँ त एउटा पोएट पनि हो नि त । एउटा कलाकार पनि त हो नि त । एउटा कविको यत्रो भीडमा पनि मैले एक्लो महशुस गर्न सक्दिन र ? कति मान्छे हुनुहुन्छ तपाईँहरू । त्यसकारणले त्यस्तो त्यो हामीले सोचेजस्तो हो कि हरेक शब्दका अर्थहरू खोज्न गयौँ भने त्यसको राजनीतिक अर्थ भन्ने नै हुँदैन नि । यत्रो सिङ्गो पार्टी उहाँँसँग उभिएको छ । यहाँ पार्टी सिङ्गो उभिएको छ, कहाँ हुनुहुन्छ एक्लो ? त्यसमा चिन्ता हुनुपर्दैन ।’
उहाँले केन्द्रिय समितिलाई पूर्णता दिने प्रक्रिया पनि तत्काल सम्पन्न गर्नुपर्ने विषय नभएको बताउनु भयो । उहाँले पाँच वर्षभित्र क्रमशः अघि बढाउने कार्ययोजना रहेको जानकारी दिनुभयो । महाधिवेशनपछि पार्टीभित्रको समायोजन प्रक्रिया सकिसकेकोले विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्य व्यक्तिहरूलाई क्रमशः जिम्मेवारीमा ल्याउने उहाँको भनाई छ । उहाँले रास्वपाभित्र दुई धार वा गुट रहेको भन्ने दाबीलाई पनि अस्वीकार गर्नुभयो । उहाँले पार्टीभित्र कुनै गुट नरहेको दाबी गर्नुभयो । उहाँले आफ्नो र प्रधानमन्त्री साहबीचको सम्बन्ध व्यक्तिगत बाचा नभई देश र इतिहासप्रतिको साझा प्रतिवद्धता भएको बताउनु भयो । उहाँले देशको भविष्य र इतिहासप्रति जिम्मेवार भएर सरकारले काम गरिरहेको दाबी गर्नुभयो । सामान्य घटनालाई लिएर राजनीतिक सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्नु उचित नहुने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिलाई परिपूर्ण गर्ने कुरा भनेको यो ५ वर्षभित्र गर्ने कार्य हो । हामीले ५ वर्षभित्र गर्ने कार्य भएको हुनाले हामी यताको उताको नाम आउने कतैको पनि छैन । रास्वपा एक हो, हामीले महाधिवेशन पछाडि समायोजनलाई समाप्त गरिसकेको हुनाले यो एउटा सभापतिलाई विधानले दिएको अधिकार अनुसार योग्य साथीहरूलाई क्रमशः ल्याउँदै जाने सिलसिलामा हामी छौँ । भोलि ४ जना गरौँला, पर्सि ५ जना गरौँला, अर्को दिन १० जना गरौँला । कसैले नाम दिने नै होइन, पार्टीले छलफल गर्ने हो, मलाई प्रस्तावहरू विभिन्न साथीहरूले गर्नुहुन्छ । कुनै अर्को ठाउँले हामी दुईवटा धार छौँ अथवा यता पक्षले दिने भन्ने त्यो बिल्कुल बिल्कुल होईन, त्यसलाई कम्प्लिटली खारेज गर्नुहोला । हामीकहाँ पुराना राजनीतिक अभ्यासमा सानो केही घटना भयो भने पनि त्यसको राजनीतिक अर्थ खोज्ने बानी भएको छ, हामीमा त्यो छैन । हामी नापेर जोखेर कुराकानी गर्दैनौँ । हामीमा कुनै किसिमको कन्फ्युजन पनि छैन। हामीलाई जनताले दिएको म्यान्डेटमा हामी स्पष्ट छौँ । यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन । इतिहासलाई र देशलाई हामीले सँगै बसेर गरेको वाचा हो । यहाँ यस्ता सामान्य कुराहरूले यत्रो राजनीतिक कमिटमेन्ट, यत्रो पोलिटिकल कमिटमेन्ट, यत्रो हिस्टोरिक कमिटमेन्ट, ए यसो बिग्रियो सम्बन्ध, यो घरमा, साथीभाइसँग सानो एउटा कुरामा कुरा नमिलेर परिवारसँग जिस्किएको, चलेको विषय हो र ? यो चल्ने विषय पनि होइन, चलाउने विषय पनि होइन । यो सेन्सेटिभ विषय हो । हामी यसको सेन्सेटिभिटी बुझ्दछौँ । यसको संवेदनशीलता बुझ्दछौँ । त्यही संवेदनशीलता बुझेर इतिहासले हामीलाई दिएको जिम्मेवारी हो । ४ महिना भर्खर भएको छ, ५ औँ महिनामा प्रवेश गर्दैछ । रमाइलोको लागि जसले जे भनेपनि मेरो त्यसमा आपत्ति छैन । तर वास्तविकतामा हामी एकदमै होसियारीपूर्वक, ध्यानपूर्वक, राजनीतिक सुझबुझका साथ देशको भविष्य, इतिहासलाई योगदान दिने हिसाबले काम गरिरहेका छौँ । अरु कुनै चिजको पनि कुनै काहीँ अर्थ र गुञ्जायस बिल्कुल छैन ।’
उहाँले सरकारले राम्रोसँग काम गरिरहेपनि व्यवस्थापनमा केही कमजोरी देखिएको बताउनु भयो । ग्यासमा हाल देखिएको अभावलाई सरकारको असफलतासँग जोडेर हेर्न नहुने उहाँको भनाई छ । राम्रो काम गर्दागर्दै पनि कहिलेकाही समस्या देखिने गरेको उहाँले बताउनु भयो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar