|  

अमरेशकुमार सिंहः अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री कार्यालयको शाखा ?

०४ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक हैसियत र स्वतन्त्रतामाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार संवैधानिक निकाय भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रभावित भएको जस्तो देखिन थालेको टिप्पणी गरेका छन् । ‘अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री कार्यालयको शाखा हो, स्पष्ट गरिदिनुस्,’ उनले भने, ‘अख्तियारले प्रधानमन्त्रीको समेत छानबिन गर्न सक्छ।’

प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी जान नहुने धारणा राख्दै उनले आवश्यक परे लिखित पत्रमार्फत संवाद गर्नुपर्ने बताए। प्रधानमन्त्री पदमा हुँदैमा कोही राजा नहुने र सांसद पनि कसैको रैती नभएको उनको भनाइ थियो । सिंहले अख्तियारका प्रमुख आयुक्तसहित पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा करिब सात घण्टा बोलाइएको प्रसंगसमेत बैठकमा उठाएका छन् । उनले अख्तियारकै कामकारबाहीमाथि पनि प्रश्न उठाए। अख्तियारमा बिचौलियाको प्रभाव रहेको आरोप लगाउँदै उनले ठूला भ्रष्टाचारका घटनामा प्रभावकारी अनुसन्धान हुन नसकेको बताएका छन् । ‘अख्तियारले पनि बिचौलिया पाल्दो रहेछ,’ सिंहले भने, ‘सम्पत्ति छानबिन गर्ने आफ्नो दायित्व पूरा नगर्दा अरू आयोगहरू बने ।’

उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबी गर्दै त्यसबारे आफूले रेकर्ड गराउने बताए। ठूला भ्रष्टाचारका घटनामा अख्तियारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै उनले प्रश्न गरे । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरूको पनि उपस्थिति थियो । सिंहले सरकारी वकिलको भूमिकामाथि पनि प्रश्न उठाउँदै मुद्दामा दफा थपघट गर्दा अनुसन्धान र अभियोजन कमजोर बन्ने गरेको बताए । त्यस्तै, उनले निर्वाचन आयोगलाई पनि पूर्वकर्मचारीहरूको ‘क्लब’ जस्तो भएको टिप्पणी गरे।