|  

अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैनः अमरेश सिंह

४ भदौ, काठमाडौं ।  रास्वपा सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री मातहतको संस्था नभएको बताएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी जान नहुने बताए । 

उनले भने, ‘संसदीय समितिमा आउन मिल्छ, अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन। त्यसैले अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैन। अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ।’

उनले न्यायालय र अख्तियार बिचौलिया उत्पादन गर्ने संस्था बनेको टिप्पणी गरे। ‘भागबन्डाको राजनीति अन्त्य गरौँ र पूर्व कर्मचारीहरूको क्लब बन्न नदिऔँ। जति संवैधानिक निकाय छन्, ती सबै पूर्व कर्मचारीहरूको क्लब वा आयोग बनेका छन्।’