०४ भदाै, काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार बजेट कार्यान्वयन र आर्थिक क्षेत्रको संरचनागत सुधारमा उच्च प्राथमिकताका साथ लागिपरेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले मुलुकको लगानीमैत्री वातावरण निर्माणका लागि विभिन्न ऐनहरू परिमार्जन र खारेजीको प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा नियुक्त हुने पदाधिकारीहरूको योग्यताको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्व बैंक र एसियाली विकास बैंक मात्र नभई खाद्य तथा कृषि संगठन (एफएओ) जस्ता निकायमा आर्थिक तथा वित्तीय क्षेत्रमा कार्यकारी भुमिका निभाएका विज्ञहरूलाई पनि अवसर दिनुपर्ने प्रश्ताव गर्नुभयो । नियुक्ति प्रक्रियामा ‘लब्धप्रतिष्ठित’ जस्ता अमूर्त र मापन गर्न कठिन हुने शब्दहरू राख्दा राजनीतिक स्वार्थ अनुकूल व्याख्या हुनसक्ने भन्दै उहाँले स्पष्ट र वस्तुगत मापदण्ड तय गरिनुपर्ने बताउनु भयो । सो क्रममा उहाँले योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री पृथ्वीराज लिगलको उदाहरण दिँदै औपचारिक विद्यावारिधि (पीएचडी) उपाधि नभए पनि असाधारण अनुभव र विज्ञता भएका व्यक्तित्वहरूलाई समेट्न सक्ने गरी कानूनी भाषामा लचकता अपनाउनुपर्ने उल्लेख गर्नुभयो ।
बजेट कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता भइसकेको जानकारी दिँदै अर्थमन्त्रीले यस वर्षको बजेटमा समेटिएका ४ सय २१ वटा कार्ययोजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाइएको बताउनु भयो । लगानीको वातावरण सुधार गर्न यसै वर्ष २७ वटा ऐनहरू पारित गर्ने लक्ष्य लिइएको र १५ वटा असान्दर्भिक ऐन खारेजीको विधेयक समितिमा आउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । डिजिटल अर्थतन्त्र र नयाँ वित्तीय औजारका रूपमा ‘पियर–टु–पियर’ लेण्डिङलाई कानूनी मान्यता दिने तयारी भइरहेको उहाँको भनाइ छ । पूर्वाधार क्षेत्रमा निजी वित्त परिचालनका लागि ‘अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स’ ऐनलाई कार्यान्वयनमा ल्याउन लागिएको र सोका लागि आवश्यक संरचनात्मक नियुक्तिहरू शिघ्र गरिने उहाँले बताउनु भयो ।
राजश्व संकलनका क्षेत्रमा सरकारले उत्साहजनक उपलब्धि हासिल गरेको दाबी गर्दै मन्त्री वाग्लेले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा एक खर्ब रुपैयाँ राजश्व संकलन भइसकेको जानकारी दिनुभयो । यद्यपि, १५८० अर्ब रुपैयाँको वार्षिक लक्ष्य भेट्टाउन आगामी महिनाहरूमा राजश्व संकलनको गति अझै बढाउनुपर्ने उहाँले स्वीकार गर्नुभयो । अर्थमन्त्री वाग्लले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय संस्थामा आर्थिक तथा वित्तीय क्षेत्रमा कार्यकारी भूमिका निर्वाह गरेको अनुभव भएका व्यक्तिलाई पनि योग्य हुने गरी मापदण्डलाई केही फराकिलो बनाउन सकिन्छ । त्यस्तै, पूर्वसचिव, ‘क’ वर्गको बैंकका सीईओ वा नीति निर्माण तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएका सम्मानित व्यक्तित्वलाई पनि समेट्ने गरी यस विषयमा थप छलफल गरौँ । अहिले हामी बजेट कार्यान्वयनको घनिभूत चरणमा छौँ । हिजो मात्र सम्माननीय प्रधानमन्त्रीज्यूसँग कार्यसम्पादन सम्झौता भएको छ । बजेटमा उल्लेखित करिव ४२१ वटा कार्यक्रम तथा गतिविधिको कार्यान्वयनमा अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग समन्वय र सहजीकरण गरिरहेको छ । यस वर्ष बजेटमा उल्लेख भएका करिब २७ वटा ऐन निर्माण तथा संशोधन गर्ने लक्ष्य छ । लगानी र निजी क्षेत्रमैत्री वातावरण बनाउन केही ऐन खारेज गर्ने तथा नयाँ कानुनी व्यवस्था ल्याउने काम पनि अघि बढेको छ। डिजिटल तथा आधुनिक भुक्तानी प्रणालीलाई कानुनी आधार दिने, निजी लगानी र पूर्वाधार विकासलाई सहज बनाउनेलगायतका काम पनि कार्यान्वयनको चरणमा छन् । राजश्वतर्फ पनि हामी गम्भीरताका साथ अघि बढिरहेका छौँ । आर्थिक वर्ष शुरु भएयता एक खर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ । यद्यपि यो पर्याप्त छैन । गत वर्षको यथार्थ राजश्व करिव १,२४९ अर्ब रुपैयाँ रहेकामा यस वर्ष १,५८० अर्ब रुपैयाँको महत्त्वाकांक्षी लक्ष्य राखिएको छ । यो लक्ष्य पूरा गर्न चुहावट नियन्त्रण, करको दायरा विस्तार, संस्थागत सुदृढीकरण तथा अर्थतन्त्रको औपचारिकीकरणमा विशेष जोड दिएका छौँ । राजश्व लक्ष्य पूरा गर्न अर्थ मन्त्रालय मात्र पर्याप्त हुँदैन । समितिको निर्देशन, अनुगमन तथा आवश्यक मार्गदर्शन पनि उत्तिकै महत्वपूर्ण छ । भन्सारलगायत राजस्व संकलनका क्षेत्रमा अनुगमन र निगरानी बढाई कमजोरी पहिचान तथा सुधारका लागि समितिबाट सहयोग प्राप्त हुने अपेक्षा गरेको छु ।’
अर्थतन्त्रको औपचारिकीकरणका लागि सरकारले ल्याएको ‘लटरी स्किम’ (विजक जारी गर्ने प्रोत्साहन) ले राजश्व अभिवृद्धि र चुहावट नियन्त्रणमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । अर्थमन्त्रीले भन्सार र राजश्व संकलनको प्रभावकारिताका लागि अर्थ समितिले उपसमिति बनाएर अनुगमन र निगरानी गर्न तथा मन्त्रालयलाई आवश्यक मार्गदर्शन र निर्देशन दिन पनि आग्रह गर्नुभयो । विगतका वर्षहरूमा बजेट कार्यान्वयनमा देखिने ढिलासुस्ती र अन्तिम समयको हतारोलाई अन्त्य गर्न सरकार सचेत रहेको उहाँले स्पष्ट पार्नुभयो । –
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar