|  

फेसबुकमा भरुवा बन्दुकको फोटो पोस्ट गरेपछि दुई जना पक्राउ

५ भदौ, काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने र बिना लाइसेन्स बन्दुक राख्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ सुनार गाउँका ४३ वर्षीय प्रेम सुनार र पालुङटार नगरपालिका–१ खोप्लाङका ३३ वर्षीय विष्णु सुनार रहेका छन्।

प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक अकाउन्टमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए। उनलाई अनुसन्धानका क्रममा बिना लाइसेन्सको एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको थियो।

अनुसन्धान गर्दै जाँदा उक्त बन्दुक विष्णु सुनारको भएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।