|  

अदालतबाट होइन, पार्टी कार्यालयमा संवादमार्फत कांग्रेसलाई एकताबद्ध बनाऔँः विश्वप्रकाश शर्मा

६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोभन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर दलको विवाद समाधान गर्नुपर्ने बताएका छन् ।

शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’का क्रममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।उनले कांग्रेसभित्रका विवाद समाधान पार्टी कार्यलयमा बसेर गर्न आह्वान गरे ।

कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै उनले संस्थापनइतर समूहका नेताहरूलाई संवादमार्फत पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरे । मुद्दामामिलाको बाटो कानुनले दिएको भए पनि त्यसले मात्र समाधान नदिने उनको भनाइ थियो

।‘....मुद्दामामिलाको बाटो संविधानले, कानुनले दिन्छ, त्यसमा जाँदै गर्दाखेरि हामीले त्यसमा नकारात्मक टिप्पणी गर्दैनौँ,’उनले भने, ‘तर, अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर लिएर जानु छ ।’