|  

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता

०६ भदाै, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेका छन् ।

शनिवार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका-८ स्थित हेटौंडा कपडा उद्योगमा पुगेको हो । उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालन गर्नका लागि सरकारले आवश्यक लगानी गर्ने बताए । उद्योग कुन ‘मोडालिटी’मा सञ्चालन गर्ने त्यसबारेमा छलफल गरिरहेको बताए । सरकार कपडा उद्योगलगायत बन्द उद्योगहरु पुन सञ्चालन गर्ने तयारीमा रहेको जानकारी उनले गराए ।

मन्त्री यादवले नेपाली सेनाका अधिकृतहरुसँग कपडा उद्योगको पूर्वाधारको अवस्था र सञ्चालनका बारेमा जानकारी लिएका थियाे। प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी रुपेन शाक्य, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी व्यवस्थापक संगिता क्वुरलगायत पनि निरीक्षण टोलीमा थिए । निरीक्षणका क्रममा कपडा उद्योगमा रहेका ४८८ मेसिन(तान)मध्ये हाल १२ वटा तान मात्र सञ्चालनमा रहेको जानकारी गराइएको थियो ।

मन्त्री यादवले कपडा उद्योगको वर्तमान अवस्था, उद्योग सञ्चालनमा देखिएका चुनौती तथा उत्पादन वृद्धि र रोजगारी सिर्जनाका सम्भावनाबारे सरोकारवालासँग छलफल पनि गरे । साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको  हेटौँडा कपडा उद्योगको तीन साता अघि परीक्षण उत्पादन गरिएको थियो । सरकारले नेपाली सेनालाई उद्योगको मर्मतसम्भार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि साउन २३ मा २ वटा लुम (तान)सञ्चालन गरेर प्रारम्भिक उत्पादन परीक्षण गरेको थियो ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा २०३२ सालमा हेटौँडा कपडा उद्योग स्थापना भएको थियो । यसले २०३५ सालदेखि व्यावसायिक उत्पादन शुरु गरेको थियो।राजनीतिक हस्तक्षेप, फितलो व्यवस्थापन र बढ्दो आर्थिक दायित्वका कारण २०५६ सालदेखि उत्पादन बन्द भएको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द हुन पुगेको थियो । २०५९ सालमा तत्कालीन सरकारले उक्त उद्योग पूर्ण रूपमा बन्द गर्ने औपचारिक निर्णय गरेको थियो । विगतमा बजार व्यवस्थापन हुन नसक्नु, प्रविधिको समयसापेक्ष आधुनिकीकरण नगरिनु, लोडसेडिङको समस्या, आवश्यकताभन्दा धेरै जनशक्ति हुँदा परेको आर्थिक भार र कमजोर व्यवस्थापकीय क्षमताका कारण यो ऐतिहासिक उद्योग धराशायी बन्न पुगेको थियो । –न्युज एजेन्सी नेपाल