०७ भदाै, काठमाडाैं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदालाई परिष्कृत र प्रभावकारी बनाउन सबै सरोकारवालाहरूको सुझावलाई समेटिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आईतवार मन्त्रालयद्वारा आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफलमा बोल्दै उहाँले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई स्वीकार गर्दै समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको हो । मन्त्री पोखरेलले शिक्षामा लगानीको प्रसङ्ग उठाउँदै कुल बजेटको कम्तीमा २० प्रतिशत हिस्सा शिक्षामा विनियोजन गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास भएपनि नेपालमा हाल करिव ११ प्रतिशत मात्र बजेट रहेको जानकारी दिनुभयो । प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता र विद्यालय कर्मचारीहरूको पारिश्रमिकका विषयमा स्पष्ट पार्दै मन्त्री पोखरेलले संघीय सरकारले पठाउने रकम ‘सशर्त अनुदान’ मात्र भएको उल्लेख गर्नुभयो। स्थानीय तहले उक्त अनुदानमा थप गरेर कर्मचारीहरूलाई उचित पारिश्रमिक दिनुपर्ने उहाँको तर्क छ । काठमाडौं महानगरपालिकाको उदाहरण प्रश्तुत गर्दै उहाँले संघीय सरकारबाट न्युन अनुदान प्राप्त हुँदा पनि स्थानीय तहले आफ्नो स्रोत परिचालन गरी कर्मचारीको पारिश्रमिक वृद्धि गर्नसक्ने बताउनु भयो । शिक्षा प्रणालीमा रहेका कमजोरीहरूलाई आत्मसात गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिनुभयो । २०२८ सालपछि पहिलोपटक नयाँ ऊर्जाका साथ विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढेको भन्दै उहाँले यसलाई दीर्घकालीन दस्तावेजका रूपमा विकास गरिने बताउनु भयो । विधेयकलाई थप प्रभावकारी बनाउन आगामी दिनमा शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति तथा प्रदेश र स्थानीय सरकारसँग छुट्टाछुट्टै चरणमा परामर्श गरिने समेत उहाँले जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले भन्नुभयो, ‘हामीले शिक्षामा बजेट बढाउँदै लैजानुपर्छ । अहिले विनियोजित बजेटको पनि करिव ७० प्रतिशत रकम स्थानीय तहमा अनुदानका रूपमा जाने गर्दछ । त्यसैले शिक्षा सुधारमा अधिकारसँगै स्थानीय सरकारको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ । कुनै नि समस्या समाधानको पहिलो खुड्किलो भनेकै समस्यालाई स्वीकार गर्नु हो । म संघीय सरकार र मन्त्रालयको भूमिकामा रहेका कमजोरीहरू स्वीकार गर्छु । सबै सरोकारवालाहरूले पनि आ–आफ्नो ठाउँबाट कमजोरी स्वीकार गरेर सामूहिक रूपमा समाधान खोज्न आवश्यक छ ।’
विधेयक निर्माणका क्रममा सरोकारवालाहरूमा देखिएको आशा, आक्रोश र शङ्कालाई आफूले स्वाभाविक रूपमा लिएको बताउँदै मन्त्री पोखरेलले सबैको आवाजलाई ऐनमा समेट्ने विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar