|  

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा व्यवसायी सक्रिय हुनुपर्छ : निधि

०७ भदाै, काठमाडाैं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको संरक्षणका लागि व्यवसायीहरू पनि सक्रिय हुनुपर्ने बताएका छन्।

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्दै निधिले संविधान र संघीय संरचनामाथि विभिन्न कोणबाट चुनौती देखिएको बताए। उनले राजनीतिक प्रणाली संकटमा पर्दा त्यसको प्रत्यक्ष असर व्यवसाय क्षेत्रमा पर्ने भएकाले व्यवसायीले पनि राजनीतिक घटनाक्रमबारे चासो राख्नुपर्ने बताए। संघीयता, लोकतन्त्र र समावेशिताको संरक्षण दलका नेताको मात्रै जिम्मेवारी नभएको उनको भनाइ थियो।

सुनचाँदी व्यवसायीका समस्यातर्फ सरकारको ध्यानाकर्षण गराउँदै निधिले व्यवसायीलाई ‘कालोबजारी’को दृष्टिले हेर्ने सरकारी प्रवृत्ति बदल्नुपर्ने बताए। उनले सुनचाँदी व्यवसायीका लागि सहज र सुरक्षित कानुन बनाउन, व्यवसायीले खरिद वा ग्राहकबाट फिर्ता लिएको सुन बैंकले खरिद गर्ने व्यवस्था मिलाउन तथा व्यवसायीप्रतिको नकारात्मक धारणा अन्त्य गर्न सरकारसँग आग्रह गरे। निधिले व्यवसायीलाई भयमुक्त वातावरणमा व्यापार गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा समेत जोड दिए।