|  

कांग्रेस एकताका लागि गगनसँग संवाद गर्ने देउवाको संकेत

०७ भदाै, काठमाडाैं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम गर्न सभापति गगन थापासँग छलफल गर्ने बताएका छन्।

आज बिहान देउवा निवास पुगेका डडेलधुराका पूर्वकांग्रेस सभापति कर्ण मल्लसँगको भेटमा देउवाले यस्तो धारणा राखेका हुन्। मल्लले कांग्रेसलाई एकताबद्ध बनाएर १५औँ महाधिवेशनतर्फ अघि बढाउन देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए। मल्लका अनुसार देउवा उक्त प्रस्तावप्रति सकारात्मक देखिएका थिए। साथै, पार्टीलाई मिलाएर अघि बढ्ने विषयमा सभापति थापासँग छलफल गर्ने प्रतिबद्धता देउवाले व्यक्त गरेका थिए।

उपचारपछि फर्किएका देउवाको स्वास्थ्य अवस्था बुझ्न आफू भेट्न गएको मल्लले बताए। उनका अनुसार देउवाको स्वास्थ्य अवस्था अहिले ठीक छ। मल्ल डडेलधुरामा दुई पटक कांग्रेस सभापति भइसकेका छन्। पछिल्लो समय देउवासँग उनको राजनीतिक सम्बन्धमा दूरी बढेको थियो।