|  

कुष्ठरोगप्रतिको सामाजिक मानसिकता बदल्न सचेतना आवश्यकः कार्यवाहक प्रमुख डंगोल

०७ भदाै, काठमाडाैं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग लागेका व्यक्तिलाई भेदभाव गर्नु तथा अधिकारबाट वञ्चित गर्नु सामाजिक अन्याय भएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेपाल कानून समाज, एशोसिएशन फर आइडिया नेपाल, कुष्ठरोग निवारण संघ, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघ र पुनःस्थापना, सशक्तिकरण तथा विकास नेपालले राजधानीमा आयोजना गरेको कुष्ठ प्रभावित व्यक्तिहरुको कानूनी साक्षरता तथा क्षमता अभिवृद्धि अभिुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले  कुष्ठरोग व्यक्तिको पहिचान नभई स्वास्थ्यसम्बन्धी अवस्था मात्र भएको उल्लेख गर्दै प्रभावित व्यक्तिमाथि कुनैपनि प्रकारको विभेद गर्न नहुनेमा जोड दिनुभयो । उहाँले समाजमा कुष्ठरोगभन्दा पनि रोगप्रति मानिसले गर्ने व्यवहार समस्या बनेको बताउनु भयो । डंगोलले कुष्ठरोगसम्बन्धी सामाजिक सचेतना कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिका सरोकारवाला पक्षसँग सहकार्य गर्न तयार रहेको पनि बताउनु भयो । उहाँले कुष्ठरोगप्रति डर फैलाउनुभन्दा यसको उपचार र समयमै पहिचानका विषयमा सरोकारवाला निकायहरुले चर्चा गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले समाजमा कुष्ठरोग प्रभावितलाई देख्नेबित्तिकै फरक दृष्टिले हेर्ने मानसिकता तोड्न सबै तहको सरकारले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘कुष्ठरोग लागेका व्यक्तिलाई अपमान गर्नु, भेदभाव गर्नु र अधिकारबाट वञ्चित गर्नु भनेको सामाजिक अन्याय हो । र यो सामाजिक अन्याय हो भन्नेकुरा धेरै भन्दा धेरै नागरिकलाई बुझाउन पनि जरुरी छ । रोग आफैमा समस्या त होइन तर रोगको विषयमा हामीले समाजमा गर्ने व्यवहार समस्याको रुपमा देखा परेको छ । कुष्ठरोगका विषयमा जसलाई रोग लागेको छैन तर उहाँहरुलाई पनि बुझाउन जरुरी छ । र यो बुझेको खण्डमा मात्र हामीले समाजमा विभेद गर्न हुँदैन, उहाँहरुलाई अन्याय गर्न हुँदैन, उहाँहरुको अधिकारबाट वञ्चित गर्न हुँदैन । यस्तो गर्नु भनेको सामाजिक अन्याय हो भन्ने सचेतना पनि त्यत्तिकै महत्वपूर्ण मैले महशुस गरेको छु । र यो कार्यक्रम यसरी अवेयरनेस प्रोग्राममा काठमाडौं महानगरपालिका यहाँहरुसँग सहकार्य गरेर अघि बढ्नका लागि तयार छ ।  आगामी दिनमा सोसियल अवेयरनेस प्रोग्राम पनि गरौँ भन्ने पनि म अनुरोध गर्न चाहन्छु । कुष्ठरोग भनेको व्यक्तिको पहिचान होइन । यो हाम्रो हेल्थ कन्डिसन मात्र हो व्यक्तिको पहिचान नै होइन । देख्ने बित्तिकै कुष्ठरोग लागेको मान्छे भनेर भन्ने खालका जुन परिपाटी अथवा भनौँ मेन्टालिटी छ, त्यो पनि चिर्न एकदमै जरुरी छ । यो कानुनी साक्षरता कार्यक्रम र क्षमता अभिवृद्धि कार्यक्रमबाट सिक्नुभएको कुरा आफूमा मात्र सीमित नराख्नुस् । त्यसको साथै कानुनमा कतै विभेद छ, कतै अन्जानमा लेखिएका कुराहरुलाई परिभाषा गर्दाखेरि हाम्रो अधिकारबाट वञ्चित हुने खालका कुराहरु छन् भने त्यसलाई संशोधन गर्न पनि यहाँहरुले सुझाव दिन नछोड्नुहोला ।’

कानूनमा रहेका विभेदकारी वा अनजानमै अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना गर्ने प्रावधान संशोधनका लागि सुझाव दिन समेत कुष्ठ प्रभावितलाई आग्रह गर्नुभयो ।–न्युज एजेन्सी नेपाल